सडकको बत्तीले हात्तीको आक्रमणबाट जोगाउँदै

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं १ को नौरङ्गा गाउँ बस्तीको सडकको छेउछाउमा जडान गरिएकाे बत्ती । तस्बिर : तेजबहादुर सार्की
तेजबहादुर सार्की
कञ्चनपुर, साउन ९ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं १ को नौरङ्गा गाउँ बस्तीको सडकको छेउछाउमा जडान गरिएको बत्तीले यहाँका स्थानीयलाई हात्तीको आक्रमणबाट जोगाउँदै आएको छ ।
सडकमा बत्ती नहुँदा धनगढी देखि राती गाउँमा जाने बेला यहाँका अधिकाशं स्थानीय हात्तीको आक्रमणमा पर्ने गरेका थिए ।
पछिल्लो समयमा लालझाडी गाउँपालिकाले यो सडकमा बत्ती जडान गरेपछि अहिले स्थानीय हात्तीको आक्रमणबाट जोगिदै गएका हुन् ।
यो पहिला राती सडकमा आउँदा हात्तीले आक्रमण गर्छकी भन्ने डर हुन्थ्यो । अहिले त्यो सडकमा बत्ती जडान भएपछि त्यो डर हटेको लालझाडी गाउँपालिका १ नौरङ्गाका स्थानीय रामबहादुर चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा हात्तीले आएर खेतीपाती सबै नष्ट गर्ने र धपाउँन जाँदा उल्टै आफुलाई पनि आक्रमण गर्ने हुन की भन्ने मनमा डर हुन्थ्यो । ”
अहिले सडकमा बत्ती जडान भएपछि त्यो उज्यालोले गाउँमा हात्ती नआउने गरेपछि हामीले लगाएको खेतीपाती सँगै आफ्नो ज्यान समेत जोगिने गरेको चौधरीले बताउनुभयो ।
यो भन्दा पहिला यसै हात्तीको आक्रमणबाट एक जनाको ज्यान जानुका साथै दुइ जना गम्भीर घाइते भएका थिए । घाइते भएको दुइ जनाको भारतमा उपचारपछि निको भएको थियो ।
लालझाडी गाउँपालिका वडा नं १ नौरङ्गाका स्थानीय पुस्तौ देखि अहिले सम्म हातीको डरैडरमा राती सडकमा आउजाउ गर्ने गरेका थिए ।
यती बेला गाउँपालिकाले गत वर्ष यस नौरङ्गाको सडकमा बत्ती जडान गरेसँगै अहिले यहाँका स्थानीयले लगाएको खेती जोगिनुका साथै उनीहरुलाई राती आउजाउमा गर्न समेत निकै सहज भएको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।