ताेडिदै चट्टान जोडिदै गाउँ
.jpg)
क्याप्सन ः हिमाली गाउँपालिकाको गोली गौडो चट्टान काट्दै स्काईभेटर । तस्बिर ः सुूदूरपाटी
शेरबहादुर सार्की
बाजुरा , माघ ९ गते । बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले ग्रामिण सडक निर्माण कार्यलाई निकै तीव्रता पारेको छ ।
दुर्गम बस्तीमा गाउँ बस्तीलाई सडक सञ्जालको पहुँचमा राख्ने उद्देश्यले सो पालिकाले यहाँका ग्रामिण सडक निर्माण कार्यलाई निकै तीव्रता पारेको हो ।
स्थानीयको पहिलो माग सडक रहेकोले पालिकाले त्यो माग पुरा गर्ने गरी यहाँ रहेका दुर्गमका गाउँ बस्तीमा ग्रामिण सडक निर्माण कार्यलाई निकै तीव्रता दिदै आएको हिमाली गाउँपालिकाले जनाएको छ ।
यहाँका ४, ५, ६ र ७ वटा वडापालिका गत वर्षबाट नै सडक सञ्जालको पहुँचमा छन् । भने १ , २ र ३ वडा निकै विटक क्षेत्र पर्ने भएकोले त्यहाँ अहिले सम्म सडक पुग्न सकेको छैन । यती बेला यी वडा पनि सडक सञ्जालले जोड्ने गरी पालिकाले निर्माणको कामलाई तीव्र पारेको हो ।
बाजुरा एक विकट क्षेत्रमा पर्दछ । त्यसैमा यो पालिका यहाँका अन्य पालिका भन्दा निकै विकटमा ठाउँमा पर्छ । यहाँ प्रत्येक गाउँ बस्तीमा प्रायः ठुल्ठुला चट्टान छन् । ती चट्टान फोडेर गाउँमा बस्तीमा सडक विस्तार गर्न निकै कठिन हुने गरेको हिमाली गाउँपालिकाका प्राविधिक जनकबहादुर रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पालिकाको अथक प्रयास पछि ४, ५, ६ र ७ वडा सडक सञ्जालको पहुँचमा रहेपनि अन्य तीन वडामा अँझै सडक पुग्न सकेको छैन् । ”
पालिकाले यो वर्षदेखि ती वडालाई समेत सडक सञ्जालको पहुँचमा राख्ने गरी यती बेला सडक विस्तार गर्ने कामलाई निकै तीव्रता दिदै आएको रोकायाले बताउनुभयो ।
यातायातको सुविधा नहुँदा स्थानीयलाई हिमाली गाउँपालिकाको धुलाचौर पुग्नलाई पनि एक दिनभन्दा बढी लाग्ने गथ्र्याे । गत वर्ष देखि नै यहाँका ४, ५, ६, ७ वडामा गाडी गुड्न थालेपछि अहिले उनीहरु दुई तीन घण्टामा त्यहाँ पुग्ने गर्दछन् ।
यहाँका स्थानीयहरुको सबै भन्दा पहिलो माग भनेको सडक शिक्षा स्वास्थ्य खानेपानी हो । स्थानीयका ती माग पुरा गर्न आफु निरन्तर लागि परेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ २०७५ साले देखि अहिले सम्म गाउँमा स्वास्थ्य शिक्षा तथा खानेपानीको क्षेत्रमा निकै सुधार भएको छ । यहाँका प्रत्येक बालबालिकाहरु पनि अहिले शिक्षाको पहुँचमा छन् । भने त्यसै गरी यहाँका प्रत्येक गाउँ बस्तीलाई समेत खानेपानीको राम्रो सुविधा भएको छ ।”
अबका केही वर्षमा यहाँका सबै वडामा सडक सञ्जालले जोड्ने गरी अहिले विभिन्न निकायसँग समन्वय तथा सहकारी गर्दै दुर्गमका गाउँ बस्तीमा सडक विस्तार गर्ने कामलाई समेत निकै तीव्रता दिंदै आएको अध्यक्ष मल्लले बताउनुभयो ।