सञ्चारमन्त्री शर्माद्वारा छठको शुभकामना

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ।

काठमाडौँ, मङ्सिर ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माद्वारा छठ पर्वको शुभकामना दिनु भएको छ । उहाँले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराई बासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । 

शुभकामना

सूर्यको आराधना, उपासना र पूजा गरी परिवार कल्याणको कामनासहित उल्लासपूर्वक मनाइने छठ पर्वका अवसरमा तराई बासीलगायत सबै बुवा आमा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको तराई मधेस क्षेत्रमा निकै महत्वका साथ मनाइने यो पर्व अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ । हरेक क्षेत्र र समुदायले आफ्नो आस्थाअनुसारका चाडपर्व मनाउनु र सबैले सबै समुदायका चाडपर्वको सम्मान गर्नु नेपालीहरूको सांस्कृतिक विशेषता हो । नेपालका हरेक चाडपर्वले परिवार, समुदाय र देशवासीलाई भावानात्मक रुपमा एकताबद्ध गर्ने गरेका छन् । त्यसैले त सांस्कृतिक विविधतासहितको राष्ट्रिय एकता हाम्रो साझा पहिचान बन्ने गरेको छ । यसको संरक्षण र विकास गर्नु पनि हाम्रो साझा दायित्व हो ।

नेपालमा सबै चाडपर्वहरू सौदार्हता र एकताको प्रतीकको रूपमा मनाउने गरिन्छ । हरेक मौलिक चाडपर्वका ऐतिहासिक र सांस्कृतिक सम्बन्धहरू मानव समाजको विकाससँग जोडिएका छन् ।  हाम्रा पुर्खाहरूले सामाजिक सम्बन्ध र संरचनाको विकास गर्ने क्रममा सुरु गरेका यी चाडपर्वहरू आज पनि जीवन्त सांस्कृतिक सम्पदाको रूपमा पृथक् पहिचानका साथ स्थापित छन् । अहिले हामी राजनीतिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । सबै जाति, क्षेत्र, धर्म, समुदाय, भाषा, संस्कृतिको संरक्षणका लागि नै लामो राजनीतिक सङ्घर्षपछि यो व्यवस्था स्थापना गरिएको हो । नेपालको संविधानले धार्मिक सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गर्दै सनातनदेखि मानिआएका धर्म संस्कृतिको संरक्षणलाई राज्यको दायित्वको रूपमा स्थापित गरेको छ । संविधानले दिएको धार्मिक सांस्कृतिक स्वतन्त्रताको उपयोग र यसको संरक्षण तथा विकास आजको हाम्रो साझा दायित्व हो । 

अन्त्यमा, हरेक जनसमुदायले आफ्नो आस्थाअनुसारको धर्म संस्कृतिको संरक्षण र अभ्यास गर्दै सबैले सबैको धर्म संस्कृतिको सम्मान गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैमा यो छठ पर्वले प्रेरणा प्रदान गरोस्, हार्दिक शुभकामना ।  

३ मङ्सिर, २०८०

रेखा शर्मा

मन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गाेरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?