अभिभावक भेट्न घरघरमा कार्यक्रम

क्याप्सन ः तोली माविले शुरु गरेको घरदैलो कार्यक्रमका सहभागि । तस्बिर ः विष्णु प्रशाद ओझा
बाजुरा, । बाजुराको त्रिवेणी नगरपालिका वडा नं –४ स्थित तोली देवलडाँडा माविले अभिभावक भेट्न घरदैलो कार्यक्रम शुरु गरेको छ ।
विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने गरी यती बेला तोली माविले अभिभावकको घरदैलो कार्यक्रम सुरु गरेको हो ।
विद्यार्थीहरुविद्यालयमा भर्नाभई नियमित नदेखिएका र घरायसी समस्यामा रहेका बालबालिकाहरूको सिकाई अवरोधका कारकतत्वहरू पहिचान गरी त्यसको निदान गर्ने गरी विद्यालयले अभिभावकको घरदैलो कार्यक्रम सुरु गरेको विद्यालयले जनाएको छ ।
बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीहरू सहित नियमित विद्यालय उपस्थित हुने वातावरण निर्माण गर्नु साथसाथै घरमा सिकाई र पढाई वातावरण सुधार गर्न यती बेला विद्यालयले घर दैलो कार्यक्रम शुरु गरेको तोली देवलडाँडा माविका प्राधानाध्यापक विष्णु प्रशाद ओझाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यक्रममा त्रिवेणी नगरपालिका वडा नं –४ का वडाध्यक्ष गणेशबहादुर साउँद सहित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्का पदाधिकारीहरू घरदैलो कार्यक्रममा सहभागि रहेका छन् ।”
पहिलो दिन विद्यालयको मुख्य सेवाक्षेत्र अन्तरगत त्रिवेणी नगरपालिका वडा नं –४ को शिवटोल अन्तर्गत गाग्राबस्तीमा पुगेर त्यहाँका बालबालिकाको अवस्था, विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकाहरू पहिचान, बाहिर रहनुका कारणहरू, उक्त बस्तीबाट विद्यार्थीको विद्यालय उपस्थितिमा रहेका कमजोरी, समुदाय÷अभिभावकको जिम्मेवारी, विद्यालयसम्वद्ध पक्षको जिम्मेवारी र भूमिकाका बारेमा समीक्षा भएको प्राधानाध्यापक ओझाले बताउनुभयो ।
घरदैलोका क्रममा उक्त बस्तीका अभिभावक र बालबालिकाहरूको प्रतिनिधित्व हुने गरी सिकाई सुधारका लागि निगरानी समूह गठन गरिएको छ ।
जेठ ७ गते शुरु भएको कार्यक्रम साताव्यापीरुपमा सञ्चालन हुने छ । विद्यालयको मुख्य सेवा क्षेत्रका बस्तीहरूमा वडाध्यक्ष, विव्यस, शिक्षक अभिभावक सङ्घ शिक्षक कर्मचारीहरू घरदैलोमा सरिक हुने त्रिवेणी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गणेशबहादुर साउँदले बताउनुभयो ।