छरेको तीन महिना हुँदा पनि उम्रेने गहुँ

क्याप्सन ः स्वामिकार्तिक –१ मुक्तीकोटका स्थानीय नरे लुहार नउम्रेको गँहु खेती देखाउँनु हुँदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, पुस १७ गते । बाजुराको स्वामिकार्तिक गाउँपालिका – १ को मुक्तीकोट बस्ती जिल्लाकै एक विकट बस्तीको रुपमा पर्दछ ।

यो बस्तीका स्थानीय पहिले देखि अहिले गाँस , बास र खानेपानी अभावमै जिवन जिउँन बाध्य छन् ।

सिँचाइ अभावका कारण यो बस्तीका स्थानीयहरुले लगाएको खेती पनि नउम्रने र उम्रेपनि चाँडै सुकेर जाने गरेपछि यहाँका स्थानीय सधै गाँस, बासको अभावमै जिवन जिउन बाध्य भएका हुन् ।

गत वर्षको असोज महिनाको १९ देखि २५ गते सम्म लगातार परेको अविरल वर्षातका कारण बस्तीको तलमाथीबाट पहिरो जाँदा निकै जोखिममा रहेको यहाँका स्थानीय बताउँछन् ।

पुस्तौँ देखि अहिले सम्म निकै पछाडिएको मुक्तीकोटबासीको समस्या पहिले देखि अहिले सम्म उस्तै रहेको स्वामिकार्तिक –१ मुक्तीकोटका स्थानीय नरे लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष गाउँको तलमाथीबाट पहिरो जाँदा अहिले यहाँका स्थानीयलाई खेती लगाउनु त के बिहान बेलुका खान र बस्नलाई समेत निकै समस्या भएको छ ।”

पहिरोको कारण मुहान सुकेपछि अहिले गाउँमा स्थानीयलाई नत पीउने पानी छ , नत खेती लगाउँन सिचाइको सुविधा छ ।

गाउँमा सिँचाइको सुविधा नहुँदा कात्तिकमा छेरेको गहुँ पुस महिना सम्म पनि नउम्रेको लुहारले बताउनुभयो ।

यो बस्तीमा झण्डै ३८० जना दलित परिवारले बसोबास गर्दै आएका छन् । यस बस्तीका स्थानीयले ज्याला मजदुरी गरी पेट पाउँनु परेको अर्को स्थानीय धनमल्या विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिरोले भएभरको जमिन समेत बगाइदियो । अब गाउँका केही गरी खाउँ भने जमिन पनि छैन । कुनै व्यवापार व्यवसाय गरौ भने पनि आर्थिक छैन । अन्य केही तुक नलागेपछि अहिले ज्यालामजदुरी गरेर नै पेटपाल्दै आएको छु ।”

पहिला देखि अहिले सम्म गाँस , बास कपासको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई गत वर्षको पहिरोले त उठीबास नै गरेको छ । अहिले पेटपाल्नका लागि ज्यालामजदुरी गरेपनि यो चिसोको समय भने बास बस्न निकै कठिन छ ।

गाउँमा बस्न लागेक छैन् । सरकारले हामीलाई कतै सुरक्षित ठाउँमा लिएर बसोबास गरिदिए यो सिचोमा रात काट्न निकै सहज हुने विकले बताउनुभयो ।

बाढीपहिरोले उजाडिएको मुक्तीकोट बस्सीका स्थानीयको स्थायी रुपमा बसोबास गर्नका लागि अहिले विभिन्न ठाउँमा पहल भइरहेको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले तात्काल उनीहरुलाई छाक टार्न सहज हुने गरी खाद्यान त्रिपाल भाडा वर्तन सहयोग गरेको भएपनि स्थानीय बसोवास गराउँन भने स्थानीय सरकारले अन्य निकायलाई सहकार्य गर्नु परेको स्वामिकार्तिक गाउँपालिकाका प्रमुख प्रशासकीय अम्मर रोकायाले बताउनुभयो ।

मुक्तीकोटका ३८० जना दलित घरपरिवारलाई त्यहाँ बस्न लायक छैन् । उनीहरुले बस्दै गरेको गाउँमा पनि तलमाथीबाट पहिरो लागेको छ । तत्काल उनीहरुलाई त्यो ठाउँबाट अर्को ठाउँमा बसोबास गर्ने गरी प्रक्रिया अगाडी बढाइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?