खडेरीले बेर्ना सुकेपछि किसानलाई खेत बाँझो रहने चिन्ता
शेरबहादुर सार्की
बाजुरा, असार ११ गते । बाजुराका अधिकाशं ठाउँमा लामो समय सम्म परेको खडेरीका कारण धमाधम धानको (बेर्ना) सुक्न थालेका छन् ।
गाउँमा सिचाइको अभाव तथा खडेरीका कारण धमाधम धानको बेर्ना सुक्न थालेपछि यहाँका स्थानीयलाई खेत बाँझो रहने चिन्ता पर्न थालेको छ ।
असार महिनामा रोप्ने गरी वैशाखमा राखेको धानको बीउ (बेर्ना) खडेरीले सुक्नथालेपछि यती बेला खेत बाँझो रहने परेको जगनाथ गाउँपालिका –२ किसान भीर्कु सार्कीले बताउनभुयो ।
उहाँले भन्नुभयो, “ समयमा वर्षा नहुँनु तथा गाउँमा भएका पानीका मुहान पनि विस्तारै सुक्न थालेपछि धमाधम धानको बीउ (बेर्ना) सुक्दै गएका छन् ।”
धारा र कुँवाको पानीको जोहो गरेर वैशाखमा राखेको धानको बेर्ना असार नलाग्दै सुकेर नष्ट भएपछि अब खेतमा के लगाउने निकै चिन्ता परेको सार्कीले बताउनुभयो ।
लामो समय सम्म पानी नपर्दा जगनाथ गाउँपालिका –२ हुनी र लुमाका स्थानीयले राखेको कोदो र धानको बीउ बेर्ना सुकेर नष्ट भएका छन् ।
यहाँका स्थानीयले असार खेतमा धान रोप्न तथा साउँनमा कोदो रोप्ने गरी बैशाखमा कोदो र धानको बेर्ना राख्ने गर्दछन् ।
लामो समय सम्म पानी नपरेका कारण यहाँका स्थानीय असार साउँनमा रोप्ने गरी वैशाख महिनामा राखेको धान र कोदोका बीउ बेर्ना धमाधम सुक्दै गएका हुन् ।
हुनी र लुमाका झण्डै ३८० जना घरपरिवारले राखेको धान र कोदोको बीउ (बेर्ना ) खडेरीका कारण सुकेर नष्ट भएपछि गाउँमा भोकमरी हुने सम्भावना रहेको छ ।
यहाँका स्थानीयलाई धान र कोदोको खेतीले ६ महिना खान पुग्थ्यो । यती बेला कोदो धानको बीउ समेत सुकेर खेत बाँझै रहने भएपछि गाउँमा भोकमरी हुने सम्भावना देखिएको जगनाथ गाउँपालिका –२ स्थानीय बीसु सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिउँद हिउँ नपर्दा गहुँ जौ सुक्या अहिले पानी नपर्दा खडेरीले धान र कोदोको बीउ बेर्ना सुक्या । अनी कसरी जीउ जोगाउँनु ।”
गाउँमा सिँचाइ नहुँनु र आकाशबाट पानी पनि नपर्नुले धान र कोदोको बीउ बेर्ना सुक्दै गएपछि हुनी र लुमा रहेको झण्डै हजारौ रोपनी जमिन बाँझो रहने चिन्ता परेको सार्कीले बताउनुभयो ।
बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिचाई सुविधा छ । यहाँको ८० प्रतिशत जमिनमा अहिले पनि आकाशेभरमा खेती हुने गरेको छ ।
यहाँको दुइ लाख तीस हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर मात्र खेति योग्य जमिन छ । यसमा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
हुनी र लुमाको दलित बस्तीमा खानेपानीको चरम अभाव
बाजुराको जगनाथ गाउँपालिका २ हुनी र लुमाको दलित बस्तीमा खानेपानीको चरम अभाव भएको छ ।
यहाँका तीन सय असी परिवारले प्रयोग गर्दै आएको खानेपानीको मुहान सुकेपछि खानेपानीको चरम अभाव हुँदै गएको हो ।
हुनी र लुमाका स्थानीयले प्रयोग गर्दै आएको तुसारे खोलामा रहेको खोपानीको मुहान सुकेपछि गाउँमा खानेपानीको चरम अभाव हुँदै गएको स्थानीय विसु सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ गाउँ नजिक रहेको तुसारे खोलाको मुहानबाट २०७९ सालमा गाउँमा पानी ल्याएर ३६ वटा धारा निर्माण गरेका हुन् । त्यसै धाराबाट यहाँका स्थानीयले पानी खाने गरेका थिए । ”
बाजुरामा यती बेला लामो समय सम्म परेको खडेरीले त्यो पानीको मुहान पनि सुकेपछि गाउँमा खानेपानीको समस्या भएको सार्कीले बताउनुभयो ।
गाउँमा भएका स–साना पानीका मुहान बिस्तारै सुक्दै गएपछि गाउँमा खानेपानीको चरम अभाव भएको जगनाथ गाउँपालिका –२ का वडा अध्यक्ष धनबीर सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यती बेला गाउँमा खानेपानीको चरम अभाव छ । नजिक मुहान छैन् । गाउँ देखि झण्डै ५ किलोमिटर टाढा मुहान छन् । ती मुहानबाट गाउँमा पानी ल्याउन गाउँपालिकाको रकमबाट सम्भव छैन् ।”
यसका लागि प्रदेश तथा सङ्घीय सरकारको बजेटको आवश्यक रहेको जगनाथ गाउँपालिका –२ वडा अध्यक्ष सार्कीले बताउनुभयो ।