बाढीपहिरो पीडितलाई बर्खाको समय त्रासको बास

बुढीगङ्गा नगरपालिका –२ को बजेडी बस्तीको तलबाट लागेको पहिरो । तस्बिर ः शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, असार २७ गते । बाजुराका बाढीपहिरो पीडित बर्खाको समय त्रासको बास बस्न बाध्य भएका छन् ।

बाढीपहिरो जोखिम बस्तीका स्थानीयलाई अहिले सम्म कतै स्थानान्तरण गर्न नसकेपछि उनीहरु बर्खाको समय त्यसै ठाउँमा त्रासको बास बस्न बाध्य भएका हुन् ।

बजेडीको पुरै बस्ती जोखिममा रहेको झण्डै बीस वर्ष भयो । बस्ती स्थानान्तरणका लागि धेरै ठाउँमा माग पहल गर्यौ । तर अहिले सम्म कतैबाट केही सुनुवाई भएन । अन्य जाने ठाउँ कतै नभएपछि यसै जोखिम ठाउँमा त्रासको बास बस्न बाध्य भएको बुढीगङ्गा नगरपालिका – २ बजेडीका धर्मराज जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ जमिन सबै पहिरोले लियो । अब घरबास मात्र बाँकी छ । घरतलबाट पहिरो नजिक पुगेको छ । कुन रात घर सँगै आफुलाई पनि त्यो पहिरोले लिने हो केही थाहा छैन् ।”

२०५६ साल देखि गुम्लागाउँमा देखि आएको पहिरोले बजेडीको पुरै बस्ती जोखिममा रहँदै आएको हो । अहिले पनी पहिरो बगिरहेको छ । पानी परेको बेला कहिले घरसँगै आफु पनि पहिरोमा पुरिन्छ की भन्न्ने डरैडरमा सधै बर्खाका रात काट्नु परेको जैशीले बताउनुभयो ।

बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी , खप्तड छेडेदह लगायत स्थानीय तहमा झण्डै १२५ भन्दाबढी गाउँ बस्ती बाढीपहिरोको उज्च जोखिममा रहेका छन् ।

२०५६ साल बुढीगङ्गा नदीमा आएको बाढीपहिरोले बुढीगङ्गा –३ , बसालीको , सेरामा सयौँ पसल र हजारौ क्वीन्टल धान फल्ने जमिन र दर्जनौ घरछाना बगरमा परिणत भएका छन् ।

त्यसै गरी वि.सं. २०६४ साल आएको बाढीले बूढीगङ्गा –१ अम्कोट ,बल्दे ,भलाने ,कुडीकर्राका लगायतका दर्जनौ घर पहिरोले पुरिएका थिए ।

सरकारले यी बस्तीका स्थानीयलाई त्यति बेला कपडा त्रिपाल , नुन, तेल, चामल लगायतका खाद्यान सामाग्री उपलब्ध गरेपनि स्थायी बसोबासका लागि भने अहिले सम्म कुनै व्यवस्थापन गरेको छैन् ।

२०७७ साल साउन ४ गते राती आएको अविरल वर्षात्का कारण गौमुलको घट्मुना बडिमालिकाको, राप्का, सेलाघाट ,घाँघर , जडाङ्गा , रिला र तिपाडा लगायतका दर्जनौ बस्ती विस्तावित छन् ।

ती बस्तीले उपभोग गर्दै आएका झण्डै सयौँ विघा भन्दाबढी जमिन समेत बूढीगङ्गा नदिले बगरमा परिणत गरेको छ । बाँकी रहेको केही जमिनलाई पनि अहिले सम्म नदिले कटान गर्दै आएको छ ।

२०७८ सालको जेठ २३ गते अविरल वर्षातका कारण बुढीगङ्गा १ र २ को कुँडी ,खेतकोट नडाङ्ग, ताँप्रीसेरा लगायतका दर्जनौ बस्ती बाढीपहिरोको उच्च जोखिममा छन् ।

बडिमालिकाको ओलेना र बूढीगङ्गा नगरपालिकाको ताँप्रीसेरा ,बसाली, फालासैन,आसपासका स्थानीय वर्खाको समय सधै त्रासको बास बस्न बाध्य हुने गरेका छन् ।

वर्खा बुढीगङ्गा बहाव बढ्दै जान्छ, अनी नदी आसपासका ती बस्तीका स्थानीय रातभर जाग्राम बस्छन्

जडाङ्गा, ओलेना तीपाडा पैमा, बल्दे लगायतका स्थानीयलाई वर्खाको समय खोलाले बगाउँछ की भन्ने डरैडरमा रात काट्नु परेको छ ।

यी बस्तीको तलबाट तटबन्धन गरेपनि एकीकृत बस्ती व्यवस्थापन हुन नसक्दा यहाँका स्थानीयले बूढीगङ्गा नदि कटानको जोखिम मोहोल्दै आउनु परेको छ ।

खप्तड छेडेदहको गुइबन, पाटा, बूढीगङ्गाको अम्कोट , त्रिवेणीको ,पैमा , पन्ताली, ढँडाली, कालापानी , मौरे , किम्नी छतारा लगायतका बस्तीलाई चाँडै नै सुरक्षित स्थानमा व्यवस्थापन गर्नु पर्ने आवश्यक छ ।

तर ती बस्ती व्यवस्थापन गर्नका लागि भने स्थानीय तथा सङ्घीय सरकारलाई भने निकै सकस भएको छ ।

नौ वटै स्थानीय तहका अध्यक्ष तथा प्रमुखले आ–आफ्नो स्थानीय तहमा विस्थापीत बस्ती स्थानान्तरण गर्नका लागि जिल्ला विपत व्यवस्थापन समितिमा तथ्याङ्क पठाइएको जनप्रतिनिधि बताउँछन् ।

जिल्लामा पुगेको त्यो तथ्याङ्क हेरफेर गरेर सिधै गृह मन्त्रालयमा पठाएका छौ । उताबाट थोरै रकम आउँछ । रकम कम आउँनु र विस्थापित बस्तीलाई स्थानान्तरण गर्नका लागि उपयुक्त ठाउँ नभएकोले त्यो बस्तीलाई स्थानान्तरण गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौड्यालले बताउनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?