सिचाइँ याेजना निर्माणको काम अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं –१ नौरङ्गामा अलपत्र परेकाे सिचाइँ याेजना । तस्बिर : तेजबहादुर सार्की

तेजबहादुर सार्की

कञ्चनपुर , साउन १६ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं –१ नौरङ्गामा सिचाइँ याेजना निर्माणको काम अलपत्र परेको छ । 

२०७२ साल देखि निर्माणको काम सुरु गरेको याे याेजना सिद्धबाबा दल सिचाइँ उपभोक्ता समितिको चरम लापर्बाहीका कारण सिचाइँ योजनाकाे काम अलपत्र परेको हो ।

नौरङ्गा –१ का स्थानीयको साठी वीघा जमिमा सिचाइँ सुविधाका लागि आएको यो सिचाइँ योजनाको काम अँझै सम्पन्न नभएको लालझाडी गाउँपालिका वडा नं –१ नौरङ्गाका स्थानीय देवकुमारी रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साठी वीघा जमिन छ । त्यहाँ एक मात्र सिचाइँ योजना छ । त्यसले यो सबै जमिनमा सिचाइँ गर्न पुग्दैन । यो योजनाको काम सम्पन्न भए थप सिचाइँमा सहज हुने थियो ।”

अहिले यो जमिनमा प्राप्त मात्रामा पानी नभएकोले हिउँद वर्खामा खेती गर्न यहाँका स्थानीयलाई समस्या हुने गरेको रानाले बताउनुभयो ।

लालझाडी गाउँपालिका –१ नौरङ्गामा साठी वीघा जमिनमा सिचाइँका समस्या भएपछि अहिले गाउँपालिकाले एउटा सिचाइ योजनाको निर्माण काम सम्पन्न गरि पानी सञ्चालनमा ल्याएको लालझाडी गाउँपालिकाले जनाएको छ ।

अहिले यहाँका स्थानीयले सोही योजनाको सिचाइँबाट खेती गर्दै आएका छन् । यहाँ पहिला सुरु गरेको यो सिचाइँ योजना सञ्चालनमा नआएपछि गाउँपालिकाले अर्को सिचाइँ योजना सञ्चालनमा ल्याएका हो ।

२०७२ सालमा यहाँका साठी वीघा जमिनका लागि सिचाइँ भुमिगत जलश्रोत तथा सिचाइँ विकास  डिभिजनबाट योजनाको काम सुरु भएको थियो । 

पहिला आएको ट्रान्समिटरको टेष्ट रिर्पोट विद्युतमा बुझाउन ढिलाई भयो । पछि बुझाउँदा विद्युतले फेरि नयाँ टेष्ट रिर्पोट ल्याउनु भनेपछि योजनाको काम सम्पन्नमा ढिलाई भएको सिद्धबाबा दल सिचाइँ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष मुखलाल रानाले बताउनुभयो ।

पहिला जडान गरेको ट्रान्समिटरको टेष्ट रिर्पोट विद्युतलाई मिटर ल्याउने बेलामा बुझाउनु पर्ने हो त्यो समितिले चाँडो काम नगरेकोले विद्युतले फेरि नयाँ टेष्ट रिपोट ल्याउनु भनेपछि अहिले त्यो ट्रान्समिटर हेटौडा पठाएको सिचाइँ भुमिगत जलश्रोत तथा सिचाइँ विकास  डिभिजन कार्यालय धनगढीका प्रमुख श्रवण खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो योजना पहिला सङ्घीय सरकारबाट आएकोले योजनाको रकम कती हो कसरी निर्माण गरिएको हो भन्ने कुरा त्यो समितिलाई नै थाहा छ ।” 

ट्रान्समिटर अहिले हेटौडा पठाएको छ । त्यहाँबाट त्यसको टेष्ट रिपोर्ट आएपछि योजनाको काम पनि सञ्चालन हुने खनालले बताउनुभयो ।

यो सङघीय सरकारबाट आएको योजना भएकोले यसका बारेमा पालिकालाई केही जानकारी नभएको लालझाडी गाउँपालिका अध्यक्ष निर्मला रानाले बताउनुुभयो ।

उहाँले भन्नुभयो, “ यहाँका स्थानीयको त्यो साठी वीघा जमिनमा सधै सिचाइँको समस्या हुने गरेकोले गत वर्ष पालिकाले त्यसका लागि रकम विनियोजन गरेको हो ।”

अहिले त्यो योजनाको काम सम्पन्न भएपछि यहाँका स्थानीयले त्यो साठी वीघा जमिनमा सिचाइँ गर्दै आएको अध्यक्ष निर्मल रानाले बताउनुभयो ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?