बाढीपहिरो पीडितको जोखिम घरकै बास
शेरबहादुर सार्की
बाजुरा, भदौ ७ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका –६ मैतोलाका केशेनाथको घर नजिकै पहिरो पुगेपनि उहाँको परिवार अहिले त्यसै घरमा बास बस्न बाध्य भएका छन् ।
गत साउन ६ गते राती आएको अविरल वर्षाका कारण उहाँको घरको आगन सँगै पहिरो पुगेपनि उहाँको परिवारलाई बास बस्नका लागि अन्य कतै सुरक्षित ठाउँको व्यवस्था नहुँदा नाथको परिवार अहिले त्यही पहिरोले जोखिम पारेको घरमा बास बाध्य भएका हुन् ।
पहिरोले घर समेत लिन लागेको छ । मलाई कतै बास बस्नका लागि व्यवस्था गरिदिनु भनेर धेरैलाई सहयोग मागे तर अहिले सम्म मेरो समस्यालाई कसैले नबुझिदिएपछि म अहिले त्यसै जोखिम घरमा बास बस्न बाध्य भएको खप्तड छेडेदह गाउँपालिका – ६ मैतोलाका केशे नाथले बताउँनुभयो ।
उहाँले भन्नुभयो, “पहिरोले घर जोखिममा परेको एक महिना भयो । घर जोगाउँन स्थानीय, प्रदेश तथा सङ्घीय सरकार सँग हारगुहार गरे तर कतैबाट सहयोग नमिलेनपछि म अहिले त्यसै जोखिम घरमा बास बस्न बाध्य भएको छु ।”
पहिरोले गाउँ नै उठिबास हुन लागेपछि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले हेर्नु त पर्ने हो । तर अहिले सम्म कुनै सरकारले हेरेको छैन् । बाढीपहिरोले मैतोला बस्तीको उठिबास हुन लाग्दा समेत कुनै सरकारको ध्यान नपुग्दा आफु यो देशको नागरिक नै नभए जसो लागेको नाथले बताउँनुभयो ।
पाखो तथा भिरालो ठाउँका अधिकाशं बस्तीमा वर्खाको समय माथीबाट पहिरो खस्ने र तलबाट नदिले काट्दै गएपछि अहिले ती बस्ती स्थानान्तरण गर्नु पर्ने अवस्थामा छन् ।
यसका लागि यहाँका स्थानीय कयौ पटक स्थानीय प्रदेश तथा सङघीय सरकार सँग बस्ती स्थानान्तरणका लागि माग गरे तर पनि उनीहरुको यो समस्या कतैबाट समाधान भएको छैन् ।
स्थानीय तथा प्रदेश सरकारबाट बाजुरामा वर्षेनी करोडौ रुपिँया बाढीपहिरो पीडितका लागि भनेर आउने गरेको छ । तर त्यो रकम बास्तविक पीडितका लागि भने हाती आयो फुस भने झै हुन्छ ।
पहुँच र पावरवालाले प्रदेश सरकारको बजेट बाजुरामा ल्याउने र कागजात् मिलाएर खाने चलनले नत स्थानीयका समस्या हल हुन्छन् नत सरकारको रकम नै सुदपयोग भएको छ ।
बाजुरामा पछिल्लो समय नेता र पावर हुनेकालाई स्थानी प्रदेश तथा सड्घीय सरकारले व्यक्ति मार्फत दिदै आएका योजनाले गाउँमा विकास नभइ अहिले विनास हुन थालेको यहाँका अधिकाशं स्थानीयले गुनासो गर्दै आएका छन् ।
यो व्यथा एउटै केशेनाथको मात्र नभइ खप्तड छेडेदह गाउँपालिका वडा नं – ६ पार्तोता डोगडी नाइना सुदाडाका लगायतका स्थानीयबासीको पनि उस्तै छ ।
सुदाडा बस्तीको पनि तलबाट पहिरो गएको र त्यो पहिरोले पुरै बस्ती जोखिम बनाउँदै गएपछि अहिले त्यो बस्तीका स्थानीयबासीलाई वर्खाको समय कसरी रात काट्ने निकै चिन्ता छ ।
खप्तड छेडेदह गाउँपालिका –६ मा मैतोला , नाइना , सुदाडा , छडिपातल बीर्खेत लगायतका झण्डै २६२ घर घुरी रहेका छन् । यस मध्ये नाईनाका ८६ मैतोलामा १५ सुडारा छरीपातल र विर्खेतका १२ घर गरी झण्डै ११३ घरपरिवार पहिरोको निकै जोखिममा रहेको खप्तड छेडेदह गाउँपालिका वडा नं –६ का हर्कबहादुर बीष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यहाँका स्थानीयलाई वर्खाको समय बास बस्न सहज हुने गरि अहिले पालिकाबाट ८३ त्रिपाल मात्र वितरण गरेका छौ । त्यो बाहेक अरु केही पनि राहत दिन सकेको छैन् ।”
नाइनाको बस्तीलाई अन्य ठाउँमा सार्ने गरी यती बेला गाउँपालिकामा करिब ४२ लाख रुपियाँ आएको भन्छन् । तर त्यो रुपियाँ कहाँबाट आएको यहाँका स्थानीयले कहिले कती रकम पाउने हुन । भन्ने कुराको समेत खासै एकिन थाहा नभएको अध्यक्ष विष्टले बताउनुभयो ।
पछिल्लो समय बाजुराका हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह लगायतका स्थानीय तहमा झण्डै १३५ भन्दाबढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यता बाढीपहिरोबाट जोखिममा रहेका बस्तीको तथ्याड्क सङकलन गर्दै स्थानान्तरण गर्नाका लागि गृहमन्त्रालयमा पठाएको जिल्ला विपत व्यवस्थापन समिति बाजुराले जनाएको छ ।