एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई सास्ती
शेरबहादुर सार्की
बाजुरा, भदौ २९ गते । बाजुराको बुढीगङ्गा नगरपालिकामा रहेको एम्बुलेन्स मर्मत सम्भार नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ ।
लामो समय देखि सञ्चालनमा आएको टाँटे आधारभूत स्थास्थ्य संस्थाको से १ झ २२० नम्बरको सो एम्बुलेन्स विगत एक वर्ष देखि बिग्रिएर बुढीगङ्गा नगरपालिकाको –२ को ताँप्री सेरा स्थित सडकको छेउमा राखिएको छ ।
बुढीगङ्गा नगरपालिकामा अर्को एम्बुलेन्स नहुँदा बिरामी हुँदा यहाँ स्थानीयलाई स्वास्थ्य संस्थामा जैजान निकै सास्ती खेप्नु परेको हो ।
बुढीगङ्गा नगरपालिका स्थानीयलाई बिरामी हुँदा सुविधा सम्पन्न अस्पताल लैजानका लागि एम्बुलेन्सको अती आवश्यक पर्ने गरेको बुढीगङ्गा नगरपाकिाल –७ का स्थानीय खडकबहादुर विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ बिरामीलाई अन्य गाडी भन्दा एम्बुलेन्स नै सहज हुने गरेकोले अहिले प्राय उनीहरु एम्बुलेन्स खोजी गर्ने गरेका छन् । तर टाँटे स्वास्थ्य संस्थाको सो एम्बुलेन्स भने एक वर्ष देखि आफै बिरामी भएर बसेको छ ।”
बुढीगङ्गा नगरपालिका स्थानीयलाई आवश्यक परेको बेला सहजताका लागि पालिकामै एम्बुलेन्स भए पनि त्यो एम्बुलेनस बिग्रेको बेला त्यसलाई समयमै मर्मत गर्न नसक्दा अहिले यहाँका स्थानीयले बिमारी हुँदा निकै सास्ती खेप्नु परेको विष्टले बताउनुभयो ।
बुढीगङ्गा नगरपालिकाका दश वटा वडापालिकामा केही वडाहरु भुगोलका हिसाबले धेरै टाढा पर्ने गरेपनि ती सबै वडा केही वर्ष पहिला नै सडक सञ्जालको पहुँचमा रहेका छन् ।
वर्खाको केही समय सडक अवरुद्ध भएपनि हिउँदको महिना ती सबै वडापालिकामा गाडी चल्ने गर्दछन् । विगतका दिनमा यी सबै वडाका स्थानीयलाई पालिकामा रहेको एक मात्र एम्बुलेन्सले निकै सहज हुने गरेको थियो ।
यती बेलामा भने एम्बुलेन्स बिग्रिएको र त्यसको लामो समय सम्म पनि मर्मत सम्भार नभएपछि अहिले यहाँका स्थानीले प्राय बिरामी हुँदा वा सुत्केरी महिलालाई अस्पताल लैजानु परेमा स्टेक्चर र जिप प्रयोग गर्दै आएका छन् ।
संविधान सभा सदस्य तथा पुर्व माननीय डबल शाहले बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई बिरामी हुँदा सुविधा सम्पन्न अस्पताल लैजान सहजताका लागि नेपाल सरकारको कर छुट सहित झण्डै दश लाख रुपियाँमा खरिद गरी सो एम्बुलेन्स टाँटे स्वास्थ्य चौकीलाई हस्तान्त्ररण गरेको बुढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतका केही वर्षमा सो एम्बुलेन्स सञ्चालनमा आएपनि यती बेला भने त्यसको मर्मत सम्भार गर्न सकिएको छैन् । ”
बुढीगङ्गा नगरपालिकामा दश वटा आधारभूत स्वास्थ्य र चार वटा सामुदायिक इकाई केन्द्र गरी जम्मा १४ वटा स्थास्थ्य संस्था सञ्चालनमा छन् ।
यी स्वास्थ्य संस्थामा उपचारका लागि आउने कतीपय बिरामीहरुलाई अन्य सुविधा सम्पन्न अस्पतालमा पठाउनलाई एम्बुलेन्स आवश्यक हुने गरेको शाहले बताउनुभयो ।
एम्बुलेन्सलाई दुइ तीन पटक मर्मत गरेको हो । तर त्यो धेरै पुरानो भएको कारण फेरि चाँडै बिग्रिने गरेपछि अहिले त्यसलाई मर्मत नगरेको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यसलाई फेरी मर्मत गर्न १० लाख जति लाग्छ । त्यो भन्दा त बीस लाख असी हजारमा नयाँ एक्बुलेन्स आउँछ । ”
यस पालि नयाँ एम्बुलेन्स खरिद गर्ने भनेर रकम विनियोज गरेको छ । अबका केही दिनपछि नयाँ एम्बुलेन्स खरिद गर्ने तयारी भएको नाथले बताउनुभयो ।