सडक मर्मत भएपछि आउजाउमा सहज
बाजुरा , कात्तिक २ गते । बाजुराको साँफेमार्तडी सडक अन्तर्गत बार्जुगाड देखि मार्तडी सडकको आवधिक मर्मत कार्य हुँदा सवारी साधानलाई आउजाउमा सहज भएको छ ।
विगतका केही वर्ष देखि सो सडकको बीच बीचमा खाल्डा खुल्डी भएपछि यहाँ चल्ने गरेका सवारी साधनलाई आउजाउमा निकै समस्या हुने भएको थियो ।
यती बेला त्यो सडकमा भएका खाल्डा खुल्डी पुर्ने गरी सडक डिभिजन कार्यालय अछामले आवधिक मर्मत गर्ने काम गरेपछि यती बेला यहाँ चल्ने गरेका सवारी साधानलाई आउजाउमा सहज भएको हो ।
बाजुराको इकडीगाड देखि मार्तडी सम्मको झण्डै ४२ किलोमिटर सडक केही वर्ष पहिला कालोपत्रे भएको थियो । अहिले यो मध्येकै १६ किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गरेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
अबिरल वर्षाका कारण सडक बिग्रिँदै गएकोले त्यसलाई मज्बुद पार्ने गरी यती बेला यो सडकलाई कालोपत्र गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय अछामका सुपरभाईजर गोकुल गिरीले बताउनुभयो ।
उहाँले भननुभयो, “ सडकमा विभिन्न ठाउँमा खाल्डा खुल्डी भएर सवारी साधानलाई आउजाउमा समस्या हुने गरेको थियो् । अहिले त्यो सडकमा भएका सबै खाल्डा खुल्डी पुर्ने गरी फेरि कालोपत्रेका काम गरेपछि सहज भएको छ ।”
बार्जुगाड देखि मार्तडी सम्मको झण्डै २७ किलोमिटर सडक मध्य अहिले १६ किलोमिटर सडकमा अहिले कालोपत्रे काम पुरा भएको गिरीले बताउनुभयो ।
साँफेमार्तडी सडक कालोपत्रे भएको झण्डै दश वर्षपछि अहिले पुन त्यसलाई कालोपत्रे गर्ने काम भएको छ । यो सडकको बीच बीचमा गएको पहिरोका कारण केही ठाउँमा अहिले पनि सवारी साधान हाँक्न निकै सास्ती हुने गरेको छ ।
बुढीगङ्गा नगरपालिका –२ ताँप्री सेरा , अम्कोट , बल्दे लगायतका अधिकाशं ठाउँमा वर्खामा गएको पहिरोले सडक निकै छेदविछेद भएको छ ।
अम्कोट बल्दे सडक लामो समय देखि मर्मत सम्भार भयो । तर त्यो ठाँउमा कालोपत्र गर्ने काम भने अहिले सम्म कतैबाट हुन सकेको छैन् ।
त्यो ठाउँमा हिउँदमा केही महिना गाडी चल्ने र वर्खामा फेरि गाडी रोकिँदै आउने गरेका छन् । उसो त यो सडकको ल्याब टेष्ट गर्नका लागि सडक विभागको केन्द्रिय टोली समेत यो ठाउँमा पुगेको थियो ।
अविरल वर्षातका कारण साँफे मार्तडी सडकको बीचमा पर्ने बार्जुगाड ताँप्री सेरा बल्दे अम्कोट , पानीनाउँला लगायतका धेरै ठाउँको सडकमा पहिरो गएको छ ।
त्यो सडकमा भएको पहिरोलाई पन्छ्याएर सडक मर्मत गर्न ठुलो बजेटको खाँचो छ । यसका लागि रकम कतैबाट नहालेपछि त्यो सडक मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो कार्यालयमा प्राय धेरै कार्यालय प्रमुख नै बस्न मान्दैन । उनीहरु केही दिन यता आउँने र त्यसपछि तुरुन्तै अर्को ठाउँमा जाने गर्दछन् । पाँच जना इन्जिनियरको कोटा भएको यहाँ अहिले म एक मात्र छु ।”
गत वर्षमा साँफे–मार्तडी सडकको आवधिक मर्मतका लागि केही रकम आएकोले यती बेला त्यो रकमले झण्डै १६ किलोमिटर त्यो सडकको आवधिक मर्मत गर्ने काम भएको प्रमुख देवकोटाले बताउनुभयो ।
वर्खाको समय साँफे–मार्तडी सडकको नाजुक अवस्था हुने गरेको भएपनि यसमा कसैले चाँसो देखाएका छैनन् । यसका लागि यहाँका नेता तथा कार्यकर्ताले पनि चाँसो राख्नु पर्ने हो । तर उहाँहरु कोही पनि चाँसो राख्दैन ।
सडक निर्माणका लागि ठेक्का लिएको ठेकेदारको लापरवाहीका कारण पनि सडक मज्बुद तथा चाँडो निर्माण हुँदैन । साँफे–मार्तडी सडक निर्माणमा अरबौ रुपियाँ खर्च भएपनि गत वर्षको वर्खामा लागेको पहिरोको कारण सडकको अवस्था निकै दयनीय छ ।
म आएको झण्डै दुई महिना भयो । अहिले त्यहि साँफे–मार्तडी सडकलाई व्यवस्थित कसरी गर्ने भन्ने विषयमा केन्द्रिय कार्यालयमा कुरा राखिरहेको छु । केही दिनमा फिल्डमा गएर सडकको अवस्था बारे बुझेर त्यहि अनुसार काम अगाडि बढाउँने सडक डिभिजन कार्यालय अछामका प्रमखु देवकोटाले बताउनुभयो ।