सुदूरपश्चिमको राजधानीमै छाउगोठ

महिनावारी हुँदा महिलाले बास बस्ने छाउगाेठ । तस्बिर ः साैजन्य

बाजुरा । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी अत्तरियाको आसपासका गाउँ बस्तीमै छाउगोठ देखिन थालेका छन् ।

यहाँका महिलाहरु महिनावारी भएको समय स्थानीयले उनीहरुलाई बास बस्नका लागि ती छाउँगोठ निर्माण गरेका हुन् । 

अहिले यहाँका अधिकाश महिलाहरु महिनावारी भएका समय त्यसै छाउगोठमा बास बस्ने गरेका छन् । 

यहाँ पहिलेका पुस्ताले गरेको चलन अहिलेका नयाँले पनि अँगाल्दै आएपछि ती गाउँ बस्तीमा छाउगोठ देखिन थालेका छन् ।

गोदावरीका नगरपालिकाको लालपुर , गौडी , स्याउले , गेटा , खमौरा ,दमौरा चौकीडाँडा मालाखेती र मालिकाटोलको घर देखि टाढा काठ र माटोबाट निर्माण गरेका छाप्रा छाउगोठ रहेका छन् । 

यहाँका महिलाहरु महिनावारी भएको बेला अहिले पनि त्यसै छाउगोठमै बास बस्ने गरेका छन् । गोदावारी नगरपालिका वडा नं –३ मालिका टोलका अधिकाशं स्थानीयले पछिल्लो समय देवि देउता रिसाउँने गरेको भन्दै यहाँका महिलाहरुलाई महिनावारी भएका बेला छाउगोठमा सुताउने गरेका छन् । 

पहाडी जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु गरेपनि तराईका जिल्लामा भने यो अभियान नहुँदा पछिल्लो समय यहाँका गाउँ बस्तीमा धमाधम छाउगोठ निर्माण हुन थालेका हुन् । 

गोदावरी नगरपालिकाको मालिका टोलका अधिकाशं घरमा पछिल्लो समय धेरै छाउगोठ निर्माण हुन थालेका छन् ।

हिउँदमा चिसो र वर्खाको समय सर्पको निकै डर हुने गरेको भएपनि यहाँका स्थानीयहरुले देवि देवताको डरले महिलाहरुलाई महिनावारी भएको बेला छाउगोठ सुताउँदै आएका छन् ।

अशिक्षित महिला मात्र होइन की यहाँ पढेलेखेका महिलाहरुले समेत अहिले छाउप्रथा अँगाल्दै आएका छन् । 

सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको घरमा समेत छाउगोठ छन् । उनीहरुका महिलाहरु समेत छाउगोठमा सुत्ने गरेका छन् । छाउगोठमा सुत्नु हुँदैन भनेपनि उनीहरु उल्टै अरुलाई समेत धम्की दिने गरेका छन् । 

केही समय पहिला कैलालीमा एक जना महिलालाई छाउगोठ बास बसेको बेला  बाघले आक्रमण गरेको थियो ।

त्यो सुनेर यहाँका महिलाहरुले बाहिर सुत्न डर मान्नु पर्ने थियो । तर यहाँका महिलाहरु त्यो डर भन्दा देवताको डर मान्ने भएकोले उनीहरु महिनावारी भएको बेलामा अँझै छाउगोठमा सुत्ने गरेका छन् ।

बाहिर बाघको डर भएपनि यहाँका महिलाहरुले भने अहिले सम्म पनि छाउगोठमा सुत्न छोडेका छैन् । आमा छाउगोठमा सुत्ने गरेपछि अहिले उनीहरुका साना छोरीहरु पनि त्यसैमा सुत्न बाध्य छन् । 

किशोरीहरुले घरमा सुत्ने भनेपनि उनीहरुका आमाहरुले उनीहरुलाई कापी किताव झोला समेत घरमा ल्याउन दिदैनन् । 

आमाका दबदबाब कारण यहाँका कलिला मुना समेत अहिले छाउगोठमा सुत्न बाध्य भएका छन् । छाउप्रथाका कारण नै अहिले उनीहरुको जिवन बरवाद हुने गरेको छ । 

बाजुरा , अछाम , बझाङ्ग , डोटी , डँडेल्धुरा , बैतडी दार्चुला लगायतका पहाडी जिल्लामा केही समय पहिला प्रहरी प्रशासनले छाउगोठ भत्काउने अभियान सुरु गर्न थालेको छ ।

तर तराईका कैलाली र कञ्चनपुर जिल्लाहरुमा भने छाउँगोठ भत्काउने अभियानको कुनै सुरुवात गरेको छैन् । जसका कारण यहाँका स्थानीयले छाउप्रथा अगादै आएका हुन् ।

छाउगोठमा सुत्दा यहाँ कयौ किशोरीहरु बलात्कारको जोखिममा रहेको भएपनि यसको रोकथामका लागि जनप्रतिनिधि सरकारी तथा गैरसरकारी संस्थाले समेत कुनै चाँसो देखाएका छैन् । यहाँ जनप्रतिधिहरुको घरमा समेत छाउगोठ छन् । उनीहरु देउताको आडमा आफ्ना छोरीहरुलाई समेत छाउगोठमा राख्दै आएका छन् ।

वर्खामा सर्प हिउँदमा चिसोको डर हुन्छ । घरमा आमा बुवाले छाउगोठमा सुत्नु पर्छ भनेपछि महिनावारी भएको समय डरैडरमा छाउगोठमा सुत्न बाध्य भएको गोदावरी नगरपालिका –३ मालिका टोल निवासी नाम परिवर्तन पवित्रा सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तराई सहर बजार हो यहाँ ठुल्ठुला विज्ञहरु बस्छन् । यहाँ धेरै पढेलेखेकाहरु पनि छन् । त्यसैले यहाँ कुनै प्रकारको विभेद नहोला भनेर पछिल्लो समय पहाड देखि बसाई सराई गर्नेको निकै घुँइचो रहेको छ । तर यहाँ २०३८ साल देखि बसोबास गर्दै आएकाहरु उही पुरानो रुढिबादी परम्परा छाउप्रथा कुप्रथा कुसंस्कारलाई अँगाल्दै आएका छन् । जसका कारण अहिले हामीलाई समेत निकै समस्या भएको छ । ”

यो एकाइसौ शताब्दीको बेलामा पनि यहाँका स्थानीयहरुले छाउप्रथा छुवाछुत कुसंस्कार कुरीतिहरुलाई अँगाल्दै आउने गरेकोले अहिले किशोरीहरुलाई समेत बाँच्न निकै सकस हुने गरेको सार्कीले बताउनुभयो ।

महिनावारी भएका किशोरी मात्र घरमा बस्न दिदैन की उनीहरु विद्यालयबाट आउँदा उनीहरुका कापी झोला समेत घरमा लिन दिदैनन् । 

छाउगोठ सबै भन्दाबढी यहाँका दलित परिवारका घरमा छन् । उनीहरुलाई यो छाउप्रथा गलत हो । छाउगोठमा महिला तथा छोरीलाई बसाल्नु हुँदैन भनेर सम्झाउँने ग¥यो भने उल्टै उनीहरु रिसाउँने गर्दछन् । 

यहाँका दमौरा खमौरा चौकीडाँडा लगायतका ठाउँमा पहिला देखि अहिले सम्म छाउगोठमा बस्ने चलन रहेको छ । कैलाली जिल्लाको विभिन्न स्थानीय तह र कञ्चनपुरको दोधारा पुर्नवास बेलौरी लालझाडी लगायतका ठाउँमा छाउगोठ रहेका छन् । 

पहाडी जिल्लामा मात्र छाउगोठ भन्ने गरेको भएपनि अहिले तराईका जिल्लाका विभिन्न ठाउँमा छाउगोठ निर्माण गर्न थालेका छन् ।

छाउप्रथा मात्र होईन यहाँ जातीय विभेद पनि उस्तै छ । एकले अर्कोको घरमा जान दिदैन् । गैरदलितले दलितलाई घरमा आउँन दिदैनन् । त्यति मात्र कहाँ हो र यहाँका एक दलितले अर्को दलितलाई समेत घरमा जान दिदैनन् ।  राज्यले यहाँ सार्की कामी लुहार विक नेपाली बादी सबैलाई दलित भन्ने गरेको छ  । 

त्यसै अनुसार सरकारले पनि उनीहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिने गरेको छ । तर यहाँ भने सार्की र विकले नेपालीको हातको पानी चलाउँदैनन् । नेपालीहरुले वादीको हातको पानी चलाउँदैनन् । 

 

 







यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?