बाजुरामा ८० प्रतिश धान रोपाइँ

धान रोपाँइ गर्दै बाजुराका स्थानीय महिला । तस्बिर ः शेरबहादुर सार्की
शेरबहादुर सार्की
बाजुरा , असार २७ गते । बाजुरामा ८० प्रतिशत् धान रोपाइँ भएको छ ।
जिल्लामा जेठको पहिलो हप्ता देखि धान रोपाइँ सुरु भएपनि लामो समय सम्म परेको खडेरीका कारण असारको तेस्रो हप्ता सम्म ८० प्रतिशत मात्र धान रोपाइँ भएको हो ।
जिल्लाका नौ वटै स्थानीय तहको असार २६ गते सम्म ८० प्रतिशत् मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
खोलाको किनारका जमिनमा जेठको पहिलो साताबाट सुरु भएपनि कुलो नलाग्ने ठाउँमा भने साउन दोस्रो हप्ता सम्म धान रोपाइँ हुने गरेको जगनाथ गाउँपालिका– २ का वडा स्थानीय कृषक बीसु सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभभयो, “ यहाँका अधिकशं जमिनमा सिचाइको सुविधा छैन । खोलाको किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भएपनि सिँचाइ सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा साउनको दोस्रो हस्ता रोपाइँ हुन्छ ।”
यती बेला लामो समय देखि परेको खडेरीका कारण यहाँका स्थानीयले जेठमा राखेको धानको बीउ बेर्ना सबै सुकेर नष्ट भएपछि रोपाइँ ढिला भएको सार्कीले बताउनुभयो ।
बाजुराको बडिमालिका, बूढीनन्दा, त्रिवेणी ,खप्तड छेडेदह , बुढीगङ्गा , गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली लगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको कृषि ज्ञान बाजुराका कार्यालय प्रमुख भुमिराज उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिन छ । यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेती योग्य जमिन छ ।”
बाजुरामा २७ हजार १६० हेक्टर जमिनमा खेती गरिन्छ । यस मध्ये बाजुरामा ७ हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।