गाउँमै निःशुल्क अल्ट्रासाउन्ड सेवा
सुरेश भुल
कैलाली , साउन ५ गते । कैलालीको कैलारी गाउँपालिकाले गाउँमै निशुल्क अल्ट्रासाउन्ड सेवा उपलब्ध गर्दै आएको छ ।
सुत्केरी तथा गर्भवती महिलाहरुको स्वास्थ्य चेक जाँच गर्ने उद्देश्यले पछिल्लो समय पालिकाले गाउँमै निःशुल्क अल्ट्रासाउन्ड सेवा उपलब्ध गर्दै आएको हो ।
पालिकाले गाउँमै सञ्चालन गरेको निशुल्क अल्ट्रासाउन्ड सेवाले यहाँका सुत्केरी तथा गर्भवती महिलालाई पछिल्लो समय स्वास्थ्य चेक जाँच गर्न निकै सहज भएको कैलारी गाउँपालिका वडा नं –२ कविता वि.कले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पहिला गाउँ नजिक अल्ट्रासाउन्ड सेवा नहुँदा झण्डै दुइ घण्टाको यात्रामा धनगढीमा जानु पथ्र्यो ।
अहिले त्यो सबै सेवा गाउँमा पाउँन थालेपछि त्यो समस्या हटेको विकले बताउनुभयो ।
२०७९ साल देखि यस पालिकाले यहाँका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य जाँच गर्नका लागि एम्बुलेन्स सहित निःशुल्क रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा दिदै आएको कैलारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो , “ अहिले यो कार्यक्रम यहाँका प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदा सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य चेक जाँचगर्न निकै सहज भएको छ । ”
सुत्केरी हुँदा गर्भ जाँच गर्न नआउने यहाँका अधिकांश महिला पछिल्लो समय प्रत्येक महिनाको एक पटक अनिवार्य स्वास्थ्य चेक जाँच गर्न थालेका छन ।
गत आर्थिक वर्ष २०८०÷०८१ सालमा यस गाउँपालिका अन्तगर्तका स्वास्थ्य संस्थाबाट ग्रामिण अल्ट्रासाउन्ड १ हजार ११२ जनाले सेवा लिएको चौधरीले बताउनुभयो ।
आर्थिक अवस्था कम्जोर विपन्न परिवारका सुत्केरी तथा गर्भवती महिलालाई सहज हुने गरी गाउँपालिकाले वडामा रहेका सबै स्वास्थ्य संस्थाबाट पछिल्लो समय एम्बुलेन्स सहितको निःशुल्क ग्रामिण अल्ट्रासाउन्ड सेवा प्रवाह गर्दै आएको कैलारी गाउँपालिकाले जनाएको छ ।