बाजुरामा सकियो रोपाइँ
शेरबहादुर सार्की
बाजुरा, साउन ११ गते । बाजुरामा साउनको पहिलो हप्ता सम्म धान रोपाइँ सकिएको छ ।
खोलाको किनारका जमिनमा जेठको पहिलो साताबाट रोपाइँ सुरु भए पनि कुलो नलाग्ने ठाउँमा भने साउनको पहिलो हप्ता सम्ममा धान रोपाइँ भएका हुन् ।
जिल्लाका नौ वटै स्थानीय तहमा गत जेठबाट सुरु गरेको धान रोपाइँ साउनको पहिलो हप्ता सम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
खोलाको किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइको सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा रोप्दा साउनको पहिलो हप्ता सम्म रोपाइँ हुने गरेको बुढीगङ्गा नगरपालिका –९ का स्थानीय कौशल सेरालाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ खोलाका किनारका जमिनमा असारमा रोपाइँ सकिए पनि कुलो र पँदालो नलाग्ने ठाउँमा भने साउनको पहिलो हप्ता सम्म रोपाइँ हुने गर्दछन् ।”
यहाँको अधिकांश ठाउँमा सिँचाइको सुविधा छैन । यती बेला पानी ढिलो परेको कारण रोपाइँ पनि ढिलो भएको सेरालाले बताउनुभयो ।
बडिमालिका, बूढीनन्दा, त्रिवेणी ,खप्तड छेडेदह , बूढीगङ्गा , गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली लगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएर साउन पहिलो र दोस्रो हप्ता सम्म धान रोप्ने काम सम्पन्न भएको कृषि ज्ञान बाजुराका प्रमुख भुमिराज उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर मात्र खेती योग्य जमिन छ । ”
बाजुरामा ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ । भने १.९ मे टन ÷ हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख उपाध्यायले बताउनुभयो ।
बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।