सडक अवरुद्ध हुँदा पुल निर्माणको काम ठप्प
शेरबहादुर सार्की
बाजुरा, साउन १६ गते । बाजुराको बुढीगङ्गा नगरपालिकाको बेतालमाण्डौ झाली हुँदै खप्तड छेडेदहको पुडाबाउला टुनीसैन सम्मको ग्रामिण सडक अवरुद्ध हुँदा पुल निर्माणको काम पनि ठप्प भएको छ ।
खप्तड छेडेदह ३ र बुढीगङ्गा ४ को बीचमा रहेको बार्जुगाड खोलाको पुल निर्माणका लागि चाहिने आवश्यक सामाग्री गिट्टी सिमेन्ट सरिया ढुवानी गर्न नसेकपछि त्यहाँ निर्माण हुन लागेको पुल निर्माणको काम ठप्प रहेको हो ।
लामो समय सम्म ग्रामिण सडक अवरुद्ध भएपछि पुल निर्माणको काम रोकिएको एडभेन्चर साउँद जेवि कन्ट्रक्सनले जनाएको छ ।
गत फागुन यता पुल निर्माणको काम तीव्ररुपमा भइरहेको थियो । अहिले असारको दोस्रो साता देखि साउँन सम्म बेतालमाण्डौ सडक अवरुद्ध भएका कारण सामान ढुवानी गर्न नसकेपछि अहिले पुल निर्माणको काम ठप्प रहेको एडभेन्चर साउँद कन्ट्रक्सन प्रालिका प्रतिनिधि ईश्वर साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ वर्खाको समय ज्यामि पाउँन समस्या थियो । कहाँ कहाँबाट ज्यामि ल्याएर काम सुरु भइरहेको थियो । अहिले बाटो बन्दका कारण सामान ढुवानी गर्न नसकेपछि मलाई काम गर्न निकै समस्या भएको छ ।”
गिट्टी ल्याएर बेतालमाण्डौमा राखेको छु । सडक आज खुल्ला भोलि खुल्ला भनेर बाटो फर्खेको छु । तर अहिले सम्म सडक नखुलेपछि पुल निर्माणको काममा समस्या भएको साउँदले बताउनुभयो ।
यता बेतालमाण्डौ देखि त्रिशक्ती सम्मको सडक बुढीगङ्गा नगरपालिकाले झण्डै आठ करोड रुपियाँमा बङ्गलामुखी कन्ट्रक्सनलाई निर्माणको काममा जिम्मा दिएको छ ।
यता झाली देखि खप्तड छेडेदह गाउँपालिका सम्मको ग्रामिण सडक निर्माणको काम प्रत्येक वर्षमा स्थानीय तहले नै मर्मत गर्दै आएका छन् ।
यती बेला यहाँका बाटो कसैले पनि मर्मत नगरेपछि अहिले देउलसैन बाइल सिमलकोट झाली पुडावाउँला टुनिसैन लगायतका स्थानीयलाई वर्खाको समय दैनिक उपभोग्य सामाग्री समेत ढुवानी गर्न निकै समस्या भएको बुडिगङ्गा ८ का स्थानीय खडक विष्टले बताउनुभयो ।
बेतालमाण्डौ त्रिशक्ती सडकको दोस्रो मोडमा काम गरिरहेको बेलामा यहाँका एक दुइ जना स्थानीयले काम गर्न नदिएपछि सडक निर्माणको रोकिएको बङ्गलामुखी कन्ट्रक्सनका साइड इन्र्चाज हिमसिखर डाँगीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “असार सम्म पनि काम गरिरहेका थियौ । त्यही बेलामा यहाँका स्थानीय आएर त्यो काम रोक्ने प्रयास गरेकोले पछि काम रोकिएको हो । ”
बेतालमाण्डौको दोस्रो मोडमा गएको पहिरोले बाटो बन्द हुँदा यहाँका धेरै स्थानीयलाई आउजाउमा समस्या हुने गरेकोले फेरि पनि यसलाई चाँडो मर्मत गर्ने तयारीमा रहेको डाँगीले बताउनुभयो ।
वर्खाको समय पानीमा काम गर्न समस्या भएको कारण सडक निर्माणको काम रोकिए बुढीगङ्गा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश रावलले बताउनुभयो ।