गाउँमा विकास भएपछि खुसी हुँदै पाँडीबासी

क्याप्पन ः स्वास्थ्य शिक्षा खानेपानी सडक र सञ्चारको पहुँचमा रहेको हिमाली गाउँपालिकाको –६ को पाडी गाउँ । तस्बिर ः सुदूरपाटी

बाजुरा , माघ २  गते । हिमाली गाउँपालिकाको –६ पाँडी जिल्लाकै एक विकट ठाउँमा पर्दछ । जिल्ला सदरमुकाम मार्तडी देखि यो गाउँ झण्डै ७४ किलोमिटरको दुरीमा छ । 

केही वर्ष अघि यहाँका स्थानीय भेडा घोडा र खच्चरको भरमा दाल चामल नुन तेल लगायतका दैनिक उपभोग्यका खाद्यान सामाग्री ढुवानी गर्ने गथ्र्ये ।  

यहाँ सिमि आलु जौ कागुनो उवा फाँपर मार्से र स्याउ ओखर कागती लगायतका फलफुल पनि प्रसस्त उत्पादन हुने गर्दछ । स्थानीयलाई यी उत्पादन गरेका सामाग्री बजार सम्म लिनका लागि निकै समस्या हुन्थ्यो । 

स्वास्थ्य शिक्षा खानेपानी सडक लगायतका भौतिक पुर्वाधारको समेत अभाव भएको यो गाउँमा जीविकोपार्जनका सम्भावना भएपनि यातायातको सुविधा नहुँदा यहाँका स्थानीयले सधै आर्थिक सङकटको सामान गर्दै आउनु परेको थियो ।

२०६४ ÷ ०६५ साल देखि बाजुराका अधिकाशं गाउँ बस्ती सञ्चारको पहुँचमा भएपनि यो गाउँ भने त्यो सेवाबाट पुस्तौ देखि अहिले सम्म सधै वञ्चित हुँदै गएको थियो ।  

पछिल्लो समय गाउँपालिकाले यहाँका विकास निर्माणको काम कार्यलाई पहिलो प्राथमिकता दिएसँगै अहिले बल्ल गाउँमा विकास पुगेको महसुस भएको हिमाली गाउँपालिका –६ का अम्मर रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ सबैका गाउँमा गाडी गुड्छन् । ती गाउँ स्वास्थ्य शिक्षा सडक खानेपानी विजुलीको पहुँचमा छन् । हाम्रो गाउँमा यस्तो विकास कहिले होला भन्ने लाग्थ्यो । अहिले त्यो सबै विकास आफैले गाउँमा देख्न पाउँदा निकै खुसी छु ।” 

गाउँमा स्वास्थ्य शिक्षा खानेपानी सडक पुगेको भएपनि सञ्चारको सुविधा भने अँझै भएको थिएन । हिजो देखि घर भित्रै फोर जी सञ्चालनमा आएसँगै त्यो समस्या पनि दुर भएको रावलले बताउनुभयो ।

जिल्ला सदरमुकाम मार्तडी ७४ किलोमिटर दुरीमा पर्ने पाडी गाउँमा अहिले झण्डै १२० घरपरिवारको बसोबास रहेको छ । 

यहाँको विकास निर्माणलाई पालिकाले पहिलो प्राथमिकता दिएसँगै अहिले यहाँका स्थानीयले बल्ल गाउँमा विकास पुगेको महसुस गर्न थालेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ २०७५ देखि २०८० सम्म यो गाउँ स्वास्थ्य शिक्षा खानेपानी सडकको पहँुचमा छ ।  यहाँ सञ्चार सुविधा थिएन । हाम्रो लामो प्रयास पछि बल्ल हिजोबाट यहाँका स्थानीयलाई त्यो सञ्चार सेवा पनि उपलब्ध गराईएको छ । ”

विगत पाँच वर्ष देखि यहाँ खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रम सञ्चालनमा छ । यहाँ एक घरको एक जनाले पाँच वटा स्याउँका बोट रोपेका थिए । ती स्याउँ अहिले फलेका छन् । अव यहाँका स्थानीयलाई आर्थिक रुपमा सम्पन्न गर्नका लागि साना उद्योग सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष मल्लले बताउनुभयो ।










यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्