गठबन्धनका उम्मेदवारलाई जिताउन अछाम कांग्रेसको आग्रह

काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन नेपाल कांग्रेस पार्टी अछाम जिल्ला कार्यसमितिले बृहत छलफल गरेको छ ।

विभिन्न पेशा, ब्यापार, व्यवसाय तथा रोजगार र अध्ययनको शीलशीलामा राजधानी काठमाडौँमा बसोवास गर्दै आएका काँग्रेस समर्थकहरुसँग छलफल गरेको हो । जिल्ला कार्यसमिति सचिव टक्करबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन लागिपर्ने निर्णय गरेको छ ।

कार्यक्रममा कांग्रेस पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीको केन्द्रीय कमिटिबाट जारी निर्देशन र गठबन्धन पार्टीबीचको सहमति अनुसार अछाम कांग्रेस गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताउनुभयो ।

अछाम क्षेत्र नम्वर १ प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीबाट श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, प्रदेश सभा क बाट कांग्रेसका प्रदेश महामन्त्री मेघराज खड्का र ख बाट नेकपा माओवादी केन्द्रका झपट बहादुर साउद उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै, अछाम क्षेत्र नम्वर २ प्रतिनिधि सभामा कांग्रेस पार्टी अछामका सभापति पुष्पबहादुर शाह, प्रदेश क मा नेकपा एकीकृत समाजवादीका अक्कल बहादुर रावल र ख मा कांग्रेसबाट पूर्वएसएसपी मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं प्रदेश समानुपातिक उम्मेदवार टिकाराम खनालले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन कांग्रेस पार्टीका भातृ संगठन, विभिन्न संघ संस्था र युवा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य भक्त ठकुल्लाले मतदाता सबैलाई गृह जिल्ला लैजाने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

निर्वाचनमा होमिएका गठनबन्धन पार्टीका उम्मेदवार र मतदाताबीचको सम्वन्ध तथा पार्टी–पार्टीहरुबीच पनि निर्वाचन प्रचारप्रसार र उम्मेदवार विजयी गराउने विषयमा सहकार्य र समन्वयात्मक भूमिकामा जोड दिएको छ ।

जिल्ला कार्यसमिति सचिव एवं कार्यक्रमका अध्यक्ष शाहले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नु पर्ने र त्यसका लागि अछाम कांग्रेसले आग्रह गरेको जानकारी दिनुभयो । उहाँले काठमाडौँ, नेपालगन्ज र धनगढी लगायत मुख्य शहरमा छरिएर बसेका मतदातालाई अछाम लैजाने व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता राजेन्द्र शाह, पदमराज अधिकारी, दिनेश स्वार लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?