छुवाछूतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना

पोखरा — जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार उक्त फैसला गरेको हो । पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।

आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि दलित महिला सदस्य नेपालीले कानुनी उपचार खोजेकी थिइन् । वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको अधिवक्ता कुञ्जनी परियारले बताइन् । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्छ ।

अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोके पनि अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ५० प्रतिशत सजाय भएको हो । पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् । कान्तिपुर

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?