बजार नपाउँदा बारीमै सडियो टमाटर

बजार नपाउँदा सडेर खेर गएको त्रिवेणी नगरपालिका –९ का स्थानीय बिक्रम कटुवालले उत्पादन गरेको अर्गानिक टमाटर । तस्बिर ः शेरबहादुर सार्की
शेरबहादुर सार्की
बाजुरा , असार २९ गते । बाजुराको त्रिवेणी नगरपालिका –९ को भानासिलामा उत्पादन भएको टमाटरले समयमै बजार नपाउँदा बारीमा सड्न थालेको छ ।
त्रिवेणी नगरपालिका –९ का कृषक बिक्रम कटुवालले प्राङगारिक मलको प्रयोगबाट गाउँमै उत्पादन गरेको सो टमाटरले समयमै बजार नपाउँदा बारीमै सड्न थालेको हो ।
असारको पहिलो साताबाट बारीमा लटरम्म टमाटर पाक्न थालेपनि त्यसले कतै बजार नपाएपछि अहिले त्यत्तिकै बारीमै सड्ने गरेको त्रिवेणी नगरपालिका–९ का स्थानीय कृषक बिक्रम कटुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ सात रोपनी जमिनमा मल्चिङ्ग प्रविधिबाट टमार खेती गरेको छु । अहिले टमाटर राम्रो सँग फलेको छ । यसले कतै बजार नपाउँदा अहिले त्यत्तिकै बारीमै सड्ने थालेको छ । ”
बुढीगङ्गा खोलमा पानीको बहाव बढ्दै गएपछि अहिले गाडी बाम्कामै रोकिने गर्दछन् । भरिया मार्फत ढुवानी गर्दा टमाटर बेचेको मुल्य भन्दा बढी भरियालाई पैसा दिनु पर्ने भएपछि अहिले टमाटर बारीमै सडिने गरेको कटुवालले बताउनुभयो ।
यहाँका अधिकाशं कृषकहरुले पछिल्लो समय तरकारी खेती उत्पादन गर्दै आएका छन् । हिउँदको महिना प्रत्येक गाउँमा गाउँमा सडक सञ्जालको पहुँच भएसँगै किसान तरकारी खेती गर्न थालेका हुन् ।
हिउँदको बेलामा जताततै गाडीको पहुँच भएपनि वर्खाको समय ग्रामिण सडक अवरुद्ध हुने गरेकोले यहाँका अधिकाशं स्थानीयले उत्पादन गरेको तरकारी बारिमै सड्ने गरेको हो ।
यहाँ कतै बजार छ तरकारी छैन् । कतै तरकारी छ बजार छैन् । उत्पादन गरेको तरकारीले समयमै बजार नपाउँदा त्यत्तिकै खेर जाने गरेको छ । अघिल्लो वर्षमा मैले गाउँमा धेरै नास्पाती उत्पादन गरेको थिए ।
त्यो नास्पातीलाई एक रुपियाँमा एक दाना बिक्री गरेपनि कसैले किनेनन । त्यस्तै यो वर्षमा पनि टमाटर राम्रो उत्पादन गरेको छु । यसले बजार नपाउँदा बारीमै सडेर त्यत्तिकै खेर जाने गरेको कटुवालले बताउनुभयो ।
कटुवाल एक कृषि प्राविधिक पनि हुन । उहाँले विभिन्न गैरसरकारी संस्थामा गर्दै आउनु भएको थियो । त्यो जागिरले उहाँलाई चित्त बुझ्दो पैसा नभएपछि उहाँ पछिल्लो समय तरकारी खेतीमा लाग्नु भएको हो ।
उसो त त्रिवेणी नगरपालिकाको नजिक बेतालमाण्डौ ,बाम्का बजार , फालासैन, सेरा, ताँप्रीसेरा बल्दे र मार्तडी लगायतका स्थानीय बजार छन् ।
बाटो बन्द भएका कारण कटुवालले उत्पादन गरेको टमाटर ती बजार सम्म पुगाउन नसकेपछि उहाँको टमाटर अहिले बारीमा सड्ने गरेको हो ।
कटुवालले यो भन्दा पहिला बाम्का बजारमा टमाटर बिक्री गर्ने गरेको थिए । त्यहाँका साहुले उहाँको दैनिक ५ र ७ क्रेट राख्ने गथ्र्ये । अहिले टमाटर बढी उत्त्पादन भएको र बजारमा खपत नभएकोले कटुवाललाई टमाटर बिक्रीमा समस्या भएको त्रिवेणी नगरपालिका कृषि शाखा प्रमुख खेमराज न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सात रोपनीमा हिमसेना जातको एक हजार आठ सय टमाटर रोप्नु भएको थियो । एक बोटबाट झण्डै ७ देखि दश किलोको हाराहारीमा टमाटर फलेको छ । ”
गत वर्षमा उहाँलाई नगरपालिकाबाट झण्डै चार लाख सहयोग गरेका थियौ । यती बेला भने कृषि शाखामा ढुवानी अनुदानको व्यवस्था नभएकोले ढुवानी अनुदानको व्यवस्था गर्न सकिएन । अहिले वर्खाको समय बाटो बन्द भएपछि उहाँलाई आफैले ढुवानी गरि टमाटर बिक्री गर्न समस्या भएको न्यौपानेले बताउनुभयो ।
बाजुरामा उत्पादन भएको तकारी बस्तु यता बिक्री नभएपछि त्यसालाई बाहिर लिएर बिक्री गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले सधै ढुवानी अनुदानको व्यवस्था गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुरका प्रमुख भुमिराज उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, यो वर्षमा पनि त्यो पैसा थियो । तर कतैबाट कोही पनि कृषकले ढुवानी अनुदानको माग नगरेकोले पैसा फ्रिज गयो ।
जिल्लामा उत्पादन गरेको तरकारी बाहिर लिएर बिक्री गर्नेका लागि कृषकले ज्ञान केन्द्रमा समन्वय गरेपछि आर्थिक वर्ष २०८१ । ०८२ मा ढुवानी अनुदानको व्यवस्था गरिने प्रमुख उपाध्यायले बताउनुभयो ।