भिरालो बस्तीमा डरैडरको बास
शेरबहादुर सार्की
बाजुरा, साउन ३१ गते । बाजुराको पाखो तथा भिरालो बस्तीका स्थानीयलाई यती बेला राती घरमा डरैडरको बास बस्नु परेको छ ।
जिल्लाको पाखो तथा भिरालो बस्तीको तलमाथीबाट पहिरो जान थालेपछि यहाँका स्थानीयलाई वर्खाको समय राती घरमा डरैडरको बास बस्नु परेको हो ।
पानी परेको बेला गाउँ बस्तीको तलमाथिबाट पहिरो जाने गरेकोले घरमा राती बसोबास गर्न निकै डर लाग्न थालेको हिमाली गाउँपालिका –३ का हँस बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो , “भिरालो ठाउँमा बसोबास छ । पानी परेका बेलामा राती घरको माथिबाट पहिरो आएर कती बेला पुर्छ भन्ने डरैडरमा रात काट्नु परेको छ । ”
साउँन २६ गते गोठालो गएको बेला दिउँसै माथीबाट पहिरो आएर धेरै पशुचौपाया मरेका छन् । आफु पनि घाइते भएको छु । कुन राती घरमा पनि पहिरो लागेर ज्यान नै जान्छ भन्ने डरैडरमा यती बेलाका रात काटी रहेको बुढाले बताउनुभयो ।
जिल्लाको हिमाली , बुढीनन्दा , स्वामिकार्तिक , जगन्नाथ , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह लगायतका पाखो तथा भिरालो ठाउँ यती बेला बाढीपहिरोको उच्च जोखिमा रहेका छन् ।
वर्खाको समय लगातार परेको अविरल वर्षातका कारण यहाँका अधिकाशं ठाउँमा पहिरो जाने गरेकोले पछिल्लो समय यी ठाउँका बस्ती बाढीपहिरोको जोखिममा रहेका हुन् ।
बाजुरामा लगातार परेको अविरल वर्षातका कारण भिरालो ठाउँमा पहिरो लान थालेपछि अहिले यहाँ बसोबास गर्ने स्थानीयलाई दिन रात पहिरोको त्रास बढ्दै गएको छ ।
असारको पहिलो साता देखि साउनको अन्तिम सम्म हिमाली , जगनाथ , खप्तडछेडेदह र त्रिवेणी लगायतका अधिकाशं पाखो तथा भिरालो ठाउँको बस्तीमा गएको पहिरोले यहाँका स्थानीयलाई त्रिपालको बास बस्न बाध्य बनाएको छ ।
पहिरोले घरबास बिहिन भएका यहाँका स्थानीय अहिले खुल्ला आकाशमा समय त्रिपाल मुनीको बास गरि रहेका छन् ।
बाढीपहिरोको जोखिममा रहेका अधिकाशं बस्तीलाई स्थानान्तरणका लागि स्थानीय तहले जिल्ला वीपत व्यवस्थापन समितिलाई तथ्याङ्क सङ्कलन गरि पठाएको भएपनि उताबाट भने अहिले सम्म केही सुनुवाई नै नभएको पालिकाले जनाएका छन्् ।
बाजुरामा प्राय पाखो तथा भिरालो ठाउँमा पहिरो जाने गरेकोले त्यो बस्तीका स्थानीयलाई यती बेला पहिरोको डर छ । गत साउन २६ गते हिमाली गाउँपालिकाको –३ बौडीमा दिउँसै पहिरोमा परि ४१ पशुचौपाया मरेका छन् । भने त्यहाँ गोठालो गएका ४ जना समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पहिरोको कारण मानवीय क्षति नभएपनि हिमाली , गौमुल , त्रिवेणी र खप्तड छेडेदह लगायतका स्थानीय तहमा धान कोदो लगायत यहाँका स्थानीयको घरछानामा लाखौको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।
बाजुरामा झण्डै एक सय ३५ भन्दाबढी गाउँ बस्ती बाढिपहिरको उच्च जोखिममा रहेका छ्न । यी बस्तीलाई विगतका केही वर्ष देखि नै स्थानान्तरण गर्नेु पर्ने हो । तर अहिले सम्म ती बस्ती कतै स्थानान्तरण भएका छैनन् ।
बस्ती स्थानान्तरणका लागि जिल्लाको नौ वटै स्थानीय तहबाट आएका सबै सिफारिस गृहमन्त्रालयमा पठाएको र उताबाट अहिले सम्म केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
भुकम्प तथा बाढीपहिरोबाट घरबास बिहिन भएकाहरुको टहरा निर्माणका लागि झण्डै १४ करोड रुपियाँका आएको हो । त्यो रुपियाँ कसै स्थानीय तहले लिएर टहरा निर्माण गरिरहेका छन् । भने अरु स्थानीय तहले यो रकम पनि नलिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घर निर्माण गर्नु पर्ने धेरै छन् । उताबाट कम रकम आएको छ । यो रकमले यहाँका सबैलाई घर टहरा निर्माण गर्न नपुग्ने भएकोले पुन गृहमन्त्रालयमा रकम माग गरिरहेका छौ । ”
उताबाट रकम आयो भनेपछि भुकम्प तथा बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई घर निर्माणका लागि रकम वितरण गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलले बतउनुभयो ।