पुस्तौ देखि बस्ती स्थानान्तरणको परखाईमा गुम्ला गाउँबासी

क्याप्सन ः पुस्तौ देखि पहिरोको जोखिमा रहेको गुम्लागाउँ । तस्बिर ः शेरबहादुर सार्की

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका गुम्ला गाउँबासी बस्ती स्थानान्तरणको परखाईमा रहेका छन् ।

२०२२ देखि पहिरोको निकै उच्च जोखिममा रहँदै आएको यहाँका गुम्ला गाउँबस्ती अँझै पनि कतै स्थानान्तरण हुन सकेको छैन् ।

याे बस्ती लामो समय देखि स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद वर्खाको समय ज्यान जोगाउँन समेत निकै कठिन हुने गरेको छ ।

बस्ती स्थानान्तरणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार हारगुहार गर्दै आएको भएपनि हाम्रो माग भने कसैले पुरा नगरिदिएको यहाँका स्थानीयले दुखेसो गर्दै आएका छन् ।

हुन पनि हिउँदको सुख्खा समयमा पनि यहाँ पहिरो निरन्तर बगिरहन्छ । वर्खाको बेलमा त कुरै नगरौ । यहाँ झण्डै दुइ सय घरपरिवारको बसोबास छ । अहिले आधा गाउँनै उठि सक्यो । पहिरोले बस्ती खाली गर्दै गएको छ । तर पनि यहाँ कसैको नजर भने गएको छैन् ।

बाध्यताले यहाँका बसोबास गरेका छौ । यहाँ देखि उठेर जाउँ जाने ठाउँ कतै छैन् । यही पहिरो सँग मितेरी लगाएर सँगै बसोबास गरेका छौ । कुन दिन मित्रता टुट्ने हो । केही थाहा नभएको खप्तड छेडेदह गाउँपालिका  गुम्लागाउँका स्थानीय विष्णुबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अव वर्खा लाग्न सुरु भयो । हिउँदमा त घरमा राम्रो सँग सुत्ने गरेको थिए । वर्खाको पानी पर्ने वित्तिकै पहिरो बग्न सुरु हुन्छ । यसरी पहिरो बगेपछि कती खेर पहिराेमा परेर घर नै बगाउँने हो भन्ने डर हुन्छ ।”

हाम्रो यो अवस्था निकै दयनीय रहेको छ । यो अवस्था देखेर सरकारले कतै बास बस्नका लागि व्यवस्था गरिदिन पाए पहिरोको डर नहुने रावतले बताउनुभयो ।

यस्तै बजेडीका स्थानीयवासी पनि यही पहिरोकै डरैडरमा रात काट्न बाध्य छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् भने १३५ घर परिवार अझैँ पहिरोको उच्च जोखिममा छन् ।

यहाँका स्थानीयले पनि सरकार सँग धेरै पटक माग राख्दै आएका छन् । तर पनि उनीहरुको यो समस्या कतै देखि हल हुन सकेकाे छैन् ।

पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन समेत बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था छ ।

अहिले यहाँका स्थानीय साईरनको सहाराले गाउँमा बास गर्दै आएका छन् । साईरनले पहिरो गएको बारेमा जानकारी दिने भएकोले उनीहरु यसैको सहारामा गाउँमा बस्ने गरेका हुन् ।

यो मेसिनले पहिरो आएको बेला झन्डै एक किलोमिटर टाढासम्म आवाज दिने गर्छ । बजेडीका स्थानीयलाई मात्र नभई खप्तड छेडेदह गाउँपालिकाको गुईबनबासीलाई पहिरोबाट सतर्क गर्न सक्ने बुढीगङ्गा नगरपालिका –२ का स्थानीय धर्माराज जोशीले बताउनुभयो ।

पहिरोको जोखिम परेर स्थानान्तरण गर्नु पर्ने गाउँ बस्तीलाई स्थानान्तरणका लागि गृहमन्त्रालयमा जानकारी गरेको भएपनि उता देखि अहिले यसको बारेमा केही खबर नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?