राहुलको एमबीबीएस भर्ना शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने

एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण हुनुभएका कैलालीका राहुल नेपाली ।

कैलाली, माघ २३ गते । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण हुनुभएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ । यस विषयमा चिकित्सा शिक्षा आयोगलाई भर्नामा सहजीकरण गरिदिन मन्त्रालयले पत्र लेखेको हो । 

चिकित्सा शिक्षा आयोगले लिएको भर्ना हुन पाउने परीक्षामा सफल हुनुभएका राहुललाई युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा राखेको थियो । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने समयमा नै बुझाउनु पर्ने भनेपछि राहुलले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो ।

विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैँले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था नभएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको छात्रवृत्तिमा छनोट उहाँलाई भर्नामा सहजीकरण गरी दिन मन्त्रालयले सोमबार पत्र पठाएको हो । पत्र पठाएपछि मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले प्रक्रिया छोट्याएर भएपनि राहुलको पढाइमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मन्त्रालय जमानत रहने बताउनुभयो ।

अब राहुलले भर्ना पाउने–नपाउने भन्ने यकिन फागुन पहिलो साता हुनेछ । पहिलो पटकको सूचनाअनुसार भर्ना भएका विद्यार्थीहरूबाट सिट खाली भए कलेजले भर्नाको (¥यापअप म्याचिङ लिस्ट) सूची निकाल्छन् । त्यस अवस्थामा सिट खाली हुनआए आफूले भर्ना पाउने सम्भावना रहने विद्यार्थी राहुल नेपालीले बताउनुभयो । 

कैलालीको गौरीगङ्गा नगरपालिका–६ कठौतिया बनबेहडा घर भई हाल भारतको पन्जाबमा मजदुरी गर्दै रहनुभएका रोहित नेपालीका छोरा हुन् राहुल । सानैदेखि पढाइमा मेधावी राहुलले अत्तरियास्थित दुर्गालक्ष्मी उच्च माविबाट ए प्लस ग्रेडकासाथ प्लस टु पासपछि घरमै बसेर एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्नुभएको थियो ।

यसअघि सालोडोलोरुपमा नौ जनाले एमबीबीएस अध्ययनको छात्रवृत्ति पाइरहेको, विपन्न वर्गको पहुँच नपुगेको र समावेशी नभएको गुनासो आइरहेकाले सबै वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी कार्यविधि संशोधन गरी नौ जनामध्ये पाँच जनालाई खुल्ला तर्फबाट र चार जनालाई समावेशीको आधारमा छनौट गरेकाले राहुलजस्तै एमबीबीएस पढ्ने लक्ष्य रहेका तर आर्थिक अभावले समस्या झेलिरहेकाहरूलाई ठुलो राहत हुने सामाजिक विकासमन्त्री झपटबहादुर साउदले विश्वास गर्नुभयो । 

नयाँ कार्यविधि अनुसार महिला, दलित, थारु–राना थारु, आर्थिक रूपमा विपन्न खास आर्य, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अपाङ्ग मधेसी र मुस्लिम समुदायबाट एक,एक जनाले पूर्ण छात्रवृति पाएको मन्त्री साउदले जानकारी दिनुभयो । गाेरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?