जीर्ण बन्दै गएको कारागारमा क्षमता भन्दाबढी कैदी

क्याप्सन ः जीर्ण बन्दै गएको कारागार बाजुरा । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , फागुन ३० गते । बाजुराको सदरमुकाम मार्तडीमा जीर्ण बन्दै गएको कारागारमा क्षमता भन्दाबढी कैदी राख्ने गरिएकाे छ ।

वि.स २०३७ साल असारमा पच्चिस जनालाई मात्र राख्ने गरी बनाएको कारागार बाजुरामा अहिले ३७ कैदी १८ जना थुनुवा गरी ५५ जना राखिएका छन्।

पुरानो डिजाईनमा निर्माण गरिएको सो कारागार बाजुराको लामो समय सम्म मर्मत सम्भार नहुँदा अहिले त्यो जीर्ण बन्दै गएको कारागार बाजुराले जनाएको छ ।

कारागार निर्माण गरिएको लामो समय हुँदापनि कतैबाट मर्मत सम्भार नभएपछि कैदी बन्दीहरुलाई बास बस्न र सुत्न निकै समस्या भएको कारागार बाजुराका चौकीदार रुपेस रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पच्चिस जनालाई मात्र राख्ने गरी बनाएको यो कारागार बाजुरामा अहिले ५५ जना राखेका छन् ।,,

क्षमता भन्दाबढी कैदी र थुनुवा यस भित्र हुलेपछि अहिले उनीहरुलाई सुत्न त के बस्नलाई पनि निकै समस्या भएको चौकिदार रावलले बताउनुभयो ।

कारागारमा स–साना कोठा छन् । यसमा नत खटियाको व्यवस्था छ, न त भँुइमा सुत्नका लागि राम्रो ओछ्याउनेको व्यवस्था छ ।

केही महिना पहिला प्रदेश सरकारबाट करकटपाता दिएपछि सुत्ने ठाउँमा पानी चुहिने त बन्द भयो । तर एक खाटमा छ जना सुत्नु पर्ने अवस्था भने पहिले जस्तै छ ।

दैनिक ६० रुपियाँ नगदी र जिन्सी सिता ७०० ग्राम चामलले गाँसमा केही सहज बनाएपनि बास बस्न र सुत्नको लागि भने निकै सास्ती खेप्दै आउनु परेको रावलले बताउनुभयो ।

कारागारको अवस्था निकै नाजुक छ । यसको मर्मत सम्भारका लागि धेरै ठाउँमा पहल गरेको भएपनि कतैबाट मर्मत सम्भारको काम नभएको कारागार बाजुराका जेलर हङ्शबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस कारागार बाजुराको पर्खाल सँगै सडक खनेको छ ,त्यसबाट अवैध सामान भित्र फाल्न सकिने निकै सम्भावना छ । धेरै पटक बाहिरबाट अवैध सामाग्री फाल्ने प्रयास गरिएको कुरा मैले यो कुरा सम्बन्धित् ठाउँमा पुगाए तर पनि कतैबाट सुनुवाई भएन ।

कारागार सँगै रहेको प्रहरी बस्ने भवन पनि अहिले जीर्ण बन्दै गएका छन् । ती भवन वर्खाको समय चुहिने गर्दछन् ।

ती भवनको छानामाथी त्रिपाल राखेर अहिले सुरक्षाकर्मी बस्दै आएका छन् । यो समस्या सम्बन्धित् निकाय सम्म राखेपनि अहिले सम्म कतैबाट ती भवन मर्मत गर्ने काम भएको छैन ।
कारागार कार्यालय बाजुराको सुरक्षाका लागि अहिले दैनिक १७ जना नेपाली सेना र ४ जना नेपाल प्रहरी जवान बस्ने गरेका छन् ।

पुरानै डिजाइन्मा निर्माण भएको यो कारागारको भवनमा अहिले नत खटिया राख्न ठाउँ पुग्छ, नत कुनै सामाग्री ठाउँ छ, अहिले तान्न तुन्न गर्दै कैदीले जिवन बिताउदै आएका छन् ।

कैदीलाई व्यवस्थापन गर्नकै लागि कारागारको नयाँ भवन निर्माणका विभिन्न ठाउँमा पहल गर्दै आएको छु । अहिले सम्म मर्मत सम्भारको काम भने कतैबाट हुन नसकेको जेलर बोहराले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?