उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रम

क्याप्सन ः खप्तड छेडेदह गाउँपालिका उपाअध्यक्ष बीसुनाथ सुत्केरी महिलालाई अण्डा दिदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा,जेठ २० गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकाले उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको छ ।पछिल्लो समय गाउँपालिकाका केही बालबालिकाहरुमा कुपोषण देखा परेपछि सो पालिकाले त्यसलाई न्यूनिकरण गर्न उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

आर्थिक वर्ष २०७९ ÷८० मा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले सात वटै वडामा लागु हुने गरी उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले, गाउँपालिकामा पछिल्लो समय जन्मिने कुनै पनि बालबालिकाहरु कुपोषणको सिकार बन्नु नपरोस भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको बताउँनुभयो ।

उहाँले भन्नुभयो, “सुत्केरी महिला तथा उनीहरुबाट जन्मिने बालबालिका स्वास्थ्यमा परिवर्तन ल्याउने उद्देश्यले उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रमकै लागि गत आर्थिक वर्ष २०७९ ÷०८० मा पाँच लाख रुपियाँ विनियोजन गरेको बताउँनुभयो ।

गाउँपालिकाले सुरु गरेको यो उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रमले खप्तड छेडेदह गाउँपालिकाका १८५ जना सुत्केरी महिला लाभान्वित भएको उपाध्यक्ष नाथले बताउँनुभयो ।विकटका महिला दिदिबहिनीहरुले गर्भवती हुने समयमा पौष्टिक आहार जस्ता पोषिला खाने कुरा खान नपाउँदा पछिल्लो समयमा उनीहरुबाट जन्मिएका केही बालबालिकाहरु कुपोषणको सिकार बन्दै जानु परेको हो ।

अहिले कुपोषित भएका बालबालिकाहरु र पछिल्लो समयमा जन्मिएका नयाँ कुनै पनि बालबालिकाहरुलाई कुपोषणबाट मुक्त गर्ने गरी खप्तड छेडेदह गाउँपालिकाले सात वटै वडामा उपाध्यक्ष सँग सुत्केरी कोशेली कार्याक्रम सञ्चालन गरेको हो ।

यो कार्यक्रमले खप्तड छेडेदह गाउँपालिकाको वडा नं १ मा ३२ वडा नं २ मा १८ वडा नं ३ मा २४ वडा नं ४ मा २२ वडा नं ५ मा ३२ वडा नं ६ मा २५ वडा नं ७ मा ३२ गरी जम्मा १८५ जना सुत्केरी महिला समेटिएको उपाध्यक्ष नाथले बताउँनुभयो ।

खप्तडत छेडेदह गाउँपालिका उपाध्यक्ष सात वटै वडाका गर्भवती भएका महिला सँग भेटघाट गर्दै उनीहरुको स्वास्थ्यमा परिवर्तन गर्नका लागि यती बेला प्रत्येक महिलालाई तेल, अण्डा नेलकटर सावुन लगायतका झण्डै एक जना महिलालाई दुइ हजार भन्दाबढीको पौष्टिक आहार तथा स्वास्थ्य सामाग्री वितरण गरेको उपाध्यक्ष नाथले बताउँनुभयो ।

खप्तड छेडेदह गाउँपालिका वडा नं.–४ का स्थानीय कमला रावतले, खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रमले यहाँका गर्भवती तथा सुत्केरी महिलालाई निकै लाभदायिक भएको बताउँनुभयो ।

उहाँले भन्नुभयो, “दुर्गम गाउँका महिलाहरुले सुत्केरी हुने समय पेटमा पोषिलो खाने कुरा खान नपाएर उनीहरुबाट जन्मेका केही बालबालिकाहरुमा कुपोषण हुने गरेको थियो । अब भने यो कार्यक्रम लागु भएपछि आमा र बच्चा दुवैको स्वास्थ्यमा राम्रो परिवर्तन आउँन सक्ने बताउँनुभयो ।

यो कार्यक्रमले सुत्केरी महिलाको स्वास्थ्यमा परिवर्तन सँगै उनीहरुबाट जन्मिने कुनै पनि बालबालिकाहरु कुुपोषणको सिकारमा नपर्ने रावतले बताउँनुभयो ।यो कार्यक्रमले उनीहरुको पौष्टिक आहार दिने मात्र नभइ त्यस्ता चीजहरु उत्पादन गर्नमा समेत त्यहाँका महिलालाई उत्प्रेरित गर्दै आएको छ ।

रात दिन मेलापातमा व्यस्त देखिने यहाँका महिला अहिले यो कार्यक्रम सञ्चालन भएपछि बारीमा तरकारी र खोरमा बाख्रा र घरमा कुखुरा पालन गर्न थालेका छन् ।खप्तड छेडेदह गाउँपालिकामा पछिल्लो पटक आएका नयाँ जनप्रतिनिधिहरुले गाउँपालिकामा रहेको कुपोषण अन्त्य गर्ने गरी कार्यपालिकाको पहिलो बैठकमै उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याउने प्रास्ताव गरेका हुन् ।

दुर्गम गाउँका अधिकाशं महिलालाई गर्भवती भएको समयमा पेटमा राम्रो पोषिलो खाने कुरा नपाएर कयौँ बालबालिकाहरु कुपोषिणको सिकार बन्दै जानु पर्ने अवस्थाको अन्त्य गर्नाका लागि खप्तड छेडेदह गाउँपालिकाले यो कार्यक्रम सुरु गरेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउँनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकाको उपाध्यक्ष महिला भएकोले सो सँग मिल्लो जुल्दो हुने गरी यो उपाध्यक्ष सँग सुत्केरी कोसेली कार्यक्रमलाई गाउँपालिकाले पहिलो बैठकबाट स्वीकृत गरेको बताउँनुभयो ।,,

केही समय अघि खप्तड खेडेदह गाउँपालिकाका अधिकाशं वडाका केही बालकालिकाहरुमा कुपोषण देखा परेपछि यो कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष रावतले बताउँनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?