समाजिक सुरक्षा ऐन कार्यान्वयमा जोड

श्रमिक महिला रक्षा सङ्घद्धारा धनगढीमा अायाेजित कार्यक्रमका सहभागि । तस्बिर : सुदूरपाटी

शेरबहादुर सार्की
कैलाली, असोज २६ गते । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले श्रमिक महिलाको रक्षाका लागि खुलेर सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँनु भएको छ ।

श्रमिक महिला रक्षा सङ्घद्धारा “योगदानमा आधारित समाजिक सुरक्षा ऐन र अनौपचारिकक्षेत्रमा कार्यरत महिलाको अवस्था” विषयक धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री साउँदले उक्त कुरा बताउनुभएको हो ।

सुदूरपश्चिम आर्थिक, सामाजिक र साँस्कृतिक दृष्टिकोणले आफैमा पछि परेको प्रदेश भएकाले यहाँका महिला विभिन्न किसिमको घरेलु हिंसा , यौन शोषण र श्रमशोषणको जोखिममा रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “यस विरुद्ध कानुनी उपचार जरुरी छ ।”

उहाँले विभिन्न पेशा व्यवसायमा आवद्ध श्रमिक र मजदुर महिलाको श्रम शोषण विरुद्ध कानुन बनाएर लाग्ने प्रतिवद्धता जनाउँदै प्रदेश सरकार सबैको साझा सहयोगबाट अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशमा सञ्चालित विभिन्न उद्योग, होटल, निजी विद्यालय, अस्पताल, खाजा घरलगायतका क्षेत्रमा कार्यरत मजदुरलाई नियुत्ती दिए नदिएको र तलब सुविधा पाए नपाएको अनुगमन गरिने जानकारी दिनुभयो ।

प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री सन्तोष कुमारी थापा शर्माले महिलामाथि हुने श्रमशोषण, घरेलुहिंसा, हत्या एवं बलात्कार जस्ता जघन्य अपराधका घट्नालाई सामान्य समस्याको रुपमा मात्र उठान नगरी त्यसलाई पूर्णरुपमा कानुनी उपचार तर्फ प्रदेश सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

व्यक्तिले गरेको कमी कमजोरी सच्याउन सकिन्छ, यसका लागि श्रमिक महिला रक्षा सङ्घ जस्ता सामाजिक संस्था खुलेर आउँदा श्रमिकहरुमा सकारात्मक संन्देश जाने र अन्यायमा परेका महिलाले समेत न्याय पाउँने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

त्यसैगरी, प्रदेश सभा सदस्य तुलसी देवकोटाले यस प्रदेशमा बालविवाह, बहुविवाह, बालश्रम र महिलामाथिको विभेद अचाक्लि रहेको स्मरण गराउँदै यस विषयमा पार्टीका नेताहरुसँग छलफल गरी कानुनी उपचार खोज्नु पर्नेमा जोड दिनुभयो ।

सामाजिक अभियन्ता हरि श्रीपाइलीले श्रमिक महिलालाई आफुले गर्ने कामको प्रकृति तथा न्याय र अन्यायको विषयमा जानकारी नहुँदा दुख पाउँने गरेको बताउनुभयो । संविधान सभा सदस्य समेत रहनु भएका श्रीपाइलीले, भन्नुभयो, “यस विषयमा प्राप्त सचेतना जागरण अभिमुखिकरण आवश्यक छ , श्रमिक महिला रक्षा सङ्घले यसको नेतृत्व गर्नु पर्छ ।

सामाजिका अभियन्ता विनिता कुँवरले राज्यले श्रमिकको श्रमको सम्मान गर्न नसक्दा श्रमिक माथि दिनप्रतिदिन असुरक्षा बढेको बताउनुभयो । कर्मचारी टे«डयूनियन प्रदेश अध्यक्ष ज्ञानेन्द्र शाहले श्रमिक महिलामाथि राज्यले हेर्ने दृष्टिकोणमा नै आमुल परिर्वतन गर्नु पर्ने खाँचो औल्याउनुभयो ।

अधिवत्ता राधिका चम्लागाईले, नेपाल सरकारले जारी गरेको योगदानमा आधारित समाजिक सुरक्षा ऐन र श्रमिक महिलाको वर्तमान अवस्थाका बारेमा विस्तृत जानकारी दिनुभयो ।

गुडसेफर्ड इन्टरनेश्नल फाउन्डेसन नेपालको सहयोगमा आयोजित सो कार्यक्रममा श्रमिक महिला रक्षा सङ्घका अध्यक्ष सविना लिम्बुले, संस्थाको स्थापना र उद्देश्यको बारेमा जानकरी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?