बाजुरामा महिनावारी भएका महिला गाेरस नदिने प्रचलन कायमै

महिनावारी भएका बेला छाउगाेठमा बसेका महिला । तस्बिर : सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा, माघ १० गते । महिनावारी (छाउपडी) भएका महिलालाई गोरस (दुध, दहीलगायत) नदिने चलन कायमै रहेको छ । गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका महिलालाई दिँदा देउता रिसाउने तथा गाईवस्तु बाँझो हुने अन्धविश्वास छ । 

महिनावारी भएका महिलालाई गोरस दियो भने गाई, भैँसी बिरामी हुने तथा कहिल्यै नब्याउने भन्ने भ्रम रहेको स्थानीय बाजुरावासी बताउँछन् । पुस्तौँदेखि चलिआएको यो अन्धविश्वास अहिलेसम्म उस्तै छ । महिनावारी भएका बेला महिलाले काटेको घाँस गाईभैँसीलाई पनि दिँदैनन् । छाउपडीले काटेको घाँस गाईभैँसीले खायो भने बिरामी हुन्छन् भनेर महिनावारी हुँदा महिलालाई घाँस पनि कटाउँदैनन् ।

महिनावारी भएका महिलाले दुध, दही, मोही खान त के गाईभैँसीको शरीरमा समेत छुन पाउँदैनन् । बुढीगङ्गा नगरपालिका स्थानीय अमृता नेपाली यो परम्परा अहिलेसम्म कायमै रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सहरमा महिनावारी हुँदा महिलाले दुध, दही, मोही खाने गर्छन् तर यहाँ भने त्यस्ता पोषणयुक्त खाने कुराबाट सधैँ वञ्चित हुनु परेको छ ।” यहाँका अधिकांश गाउँबस्तीमा महिनावारी भएका बेला महिलालाई छुइछिटो हाल्ने चलन रहेको नेपालीले बताउनुभयो ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा बडीमालिका गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा छाउप्रथा कायमै छ । खप्तड छेडेदहको काँडा जयबागेश्वरी र बुढीगङ्गा नगरपालिकाको बदेडा, तिमाडा, सेलापाखा, जुवापानी  र सिगाडा भण्डारगाउँ र नुवाकोटमा छाउपडी प्रथा पनि कायमै छ । 

यहाँका महिला छाउगोठमा हिउँदको चिसो र बर्खाको हिलोमा सुत्न बाध्य हुँदै आएका छन् । महिनावारी भएका महिलालाई गोरस दिँदा दुहुनो गाईभैँसी मर्ने, बाघ लाग्ने, अशुभ हुने, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउने भ्रम हट्न सकेको छैन । स्थानीय धामी झाँक्री र ठुलाबडाले पनि समाजलाई आफू अनुकूल बनाउने उद्देश्य अनुरूप महिनावारी भएका महिलाले घरभित्र बस्दा देउता रिसाउने गरेको भन्दै छाउगोठमा सुताउने गरेको खप्तड छेडेदह गाउँपालिका–२, जयवाग्श्वरीकी जला विकले बताउनुभयो ।

“स्वास्थ्यकर्मी भने महिनावारी भएको समयमा महिलाको शरीरबाट धेरै रगत खेर जाने भएकाले त्यस्तो बेला दुध, दही, मोहीलगायतका खाने कुरा खानुपर्ने बताउँछन् तर आफन्त र धामीझाँक्रीले खानु हुँदैन भन्छन्,” उहाँले भन्नुभयो । अहिले पनि पढेलेखेका तथा शिक्षित महिला समेत धामीझाँक्रीको डरले छाउगोठमै सुत्न बाध्य छन् । धामीझाँक्रीलाई छाउप्रथा मान्नु हुँदैन भनेर स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाले गाउँबस्तीमै पुगेर सचेतना अभियान चलाए पनि सार्थक हुन सकेन । 

सो अभियान अन्तर्गत बाजुरामा रहेका ५५७ वटा छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अझै पनि अधिकांश गाउँबस्तीमा छाउप्रथासम्बन्धी विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्रमुख कवीन्द्रसिंह बोहराले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?