विदाको दिनमा पनि खोप सञ्चालन

गौरीगङ्गा नगरपालिका –११ सिवपुर आधारभूत स्वास्थ्य केन्द्रका अनिमी कल्पना कुमारी सार्की बालबालिकालाइ खाेप लगाउँदै । तस्बिर: सुदूरपाटी

शुरेस भुल
कैलाली , फागुन ७ गते । कैलालीको गौरीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखाले शनिवार र विदाको दिनमा पनि खोप सञ्चालन गर्दै आएको छ ।

यहाँका जन्मे देखि १५ महिना सम्मका बालबालिकाको नियमित लगाउने खोपलाई मध्यनजर गर्दै सो शाखाले यहाँका प्रत्येक वडामा शनिवार र विदाको दिन पनि खोप सञ्चालन गरेको हो ।

यहाँका कुनै पनि बालबालिकाहरु दादुरा , क्षेरोग , निमोनिया , रुवेला , जापानी इन्फलाईट , टाइफाईड जस्ता नियमित लगाउने खोपबाट वञ्चित नहुन भन्ने उद्देश्य शनिवार र विदाको दिनमा पनि खोप सञ्चालन गर्ने गरेको गौरीगङ्गा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

विदाको दिनमा पनि खोप सञ्चालन हुन थालेपछि यहाँका स्थानीय महिलालाई निकै सहज भएको गौरीगङ्गा नगरपालिका वडा –११ शारदा खातीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ खोप केन्द्र टाढा भएकोले यो भन्दा पहिला एक घण्टा हिँडेर बच्चालाई खोप लगाउँनु पर्दथ्यो । अहिले गाउँमै खोप केन्द्र स्थापना भएर विदाको दिनमा पनि खोप लगाउँन पाउँदा निकै सहज भएको छ ।”

पहिला खोप केन्द्र टाढा हुँदा केही खोप छुट्ने गरेको थियो । अहिले गाउँ नजिकै खोप केन्द्र स्थापना भएपछि नियमित हुने गरेको खातीले बताउनुभयो ।

खोप बारे गाउँ गाउँमा जनचेतना अभियान सुरु गरेपछि अहिले यहाँका महिलाहरुले आफ्ना बालबालिकाहरुलाई नियमित खोप लगाउँने गरेको गौरीगङ्गा नगरपालिका –११ सिवपुर आधारभूत स्वास्थ्य केन्द्रका अ.न.मि कल्पना कुमारी सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ स्वास्थ्य सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएपछि अहिले यहाँका गर्भवती महिलाले पनि नियमित रुपमा गर्भजाँच गर्न थालेका छन् ।”

नेपालमा मात्र होइन कामको शिलसिलामा भारतमा गएका महिलाहरुले समेत बालबालिकाहरुलाई लगाउने नियमित खोप यता पनि लगाएको भन्दै फोन गर्ने गरेको सार्कीले बताउनुभयो ।

बालबालिकालाई नियमति लगाउँने खोप नछुट्ने गरी अहिले ११ वटै वडामा खोप केन्द्रमा शनिवार तथा विदाको दिनमा समेत सञ्चालन गर्ने गरेको गौरीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रशाद भुसालले बताउनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?