बेलौरी भन्सार कार्यालयको ताला खोल्नका लागि भन्सार विभाग र जिल्ला प्रशासन कार्यालयमा निवेदन

हरिश्चन्द्र बाग,
कञ्चनपुर, १७ कार्तिक । कञ्चनपुरको बेलौरी स्थित् छोटी भन्सार कार्यालयमा लगाइएको ताला खोली कार्यालय सुचारु गर्न स्थानीयले माग गरेका छन् ।गत बिहिवार ९ सय १९ जनाको हस्ताक्षर सहित भन्सार विभाग र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई निवेदन पेश गरिएका हुन् ।

बेलौरी छोटी भन्सार कार्यालयमा ताला लागेको ६ महिना भइसक्दा पनि सम्बन्धित् निकाय मौन रहेको भन्दै बेलौरीका नागरिक स्तरबाट उक्त ताला खोली भन्सार कार्यालय निर्बाध रूपमा सुचारु गर्न माग गरिएको हो ।

नागरिक स्तरबाट सङ्कलन गरिएका हस्ताक्षर सहितको उक्त निवेदन पत्र बुधबार एक टोलीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल र भन्सार विभागका महानिर्देशकलाई बोधार्थ, कार्यार्थ पत्र सम्प्रेषण गरिएको छ ।

निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले तत्कालै सम्बन्धित सरोकारवाला निकायमा टेलिफोन गरी आवश्यक प्रक्रिया पूर्याई बेलौरी भन्सार पुनः सुचारु गर्न, कर्मचारी व्यवस्थापन सहितका विषयमा ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, बेलौरी भन्सार कार्यालय विगत लामो समय देखि सञ्चालनमा रहेकोले हाल बन्द हुँदा चोरी निकासी हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नु पर्ने भएकोले पनि तत्कालै भन्सार कार्यालय खुलाउने सम्बन्धमा भन्सार विभागका महानिर्देशक लगायतसँग समेत आवश्यक समन्वय गरिरहेको र सकेसम्म छिटो सञ्चालनका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाउनु भयो ।

जिल्ला भर जे जति संरचना रहेका छन्, तिनीहरूलाई बढी भन्दाबढी प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने र त्यसबाट नागरिकहरूलाई सेवा प्रवाहमा पनि सहजता हुनसक्ने गरी नियमितता दिनुपर्छ भन्ने जिल्ला प्रशासन कार्यालयको धारणा रहेको उहाँले प्रष्ट्याउनु भयो ।

बेलौरी छोटी भन्सार कार्यालय पछिल्लो केही समययता बेवारिसे अवस्थामा रहेकोमा नागरिक स्तरबाट चिन्ता र चासो बढेको छ ।“करिब १६२ वर्ष पहिले वि.सं. १९१७ सालमा सुदूरपश्चिमकै एक मात्र मुख्य भन्सारका रूपमा स्थापित बेलौरी मुख्य भन्सार नाका वि.सं. २०१९ सालमा सदरमुकाम विस्थापित भएपछि मुख्य भन्सारको रूपमा निरन्तर कायम रहन सकेन ।

यद्यपि छोटी भन्सार कार्यालयको रूपमा भने उक्त नाका निरन्तर रह्यो । त्यसपछि भन्सारका निकासी पैठारीका प्रचलित सिद्धान्तमा हेरफेर भएसँगै पशुुचौपाया समेत आयात निर्यात गर्ने गरी भन्सारसँगै पशु क्वारेनटाइन चेक पोष्ट समेत स्थापना भई हालसम्म सञ्चालनमा रहेको छ ।

कञ्चनपुर र कैलालीका दर्जन जति छोटी भन्सार कार्यालयहरू सशस्त्र द्वन्द्वको समयमा विस्थापित भए पनि बेलौरी भन्सार कार्यालयलाई पुनर्स्थापित गरियो ।पछिल्लो समयमा भौतिक संरचना र आवश्यक पूर्वाधारहरूको सहज पहुँच भएसँगै बेलौरी भन्सार नाकालाई स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेशकै प्रमुख नाकाका रूपमा स्थापित गर्न सकिने प्रशस्त सम्भावना देखिएका छन् ।
तर पछिल्लो केही समययता उक्त बेलौरी भन्सार कार्यालयमा ताला झुण्ड्याइएको छ ।

यो सबैको चिन्ता र चासोको विषय बन्नु पर्दछ । सरोकारवाला निकायले भन्सार कार्यालय तुरुन्त सञ्चालनमा ल्याओस् ।” यस सम्बन्धी जानकार बेलौरीका समाजसेवी बुद्धिजीवी केशवराज जोशीले भन्नुभयो ।

नेपालतर्फ बेलौरी छोटी भन्सारको स्वामित्वमा करिब ३ बिघा ३ कट्ठा १३ धुर जमिन, एउटा दुई तले र दुइटा एक तले पक्की भवन भएको, नेपाल–भारत बिचमा कुनै वन जङ्गल तथा नदीनाला नभएको र दुवै देशले बेलौरी खजुरीया आधुनिक नाका भन्सारको प्रक्रिया अगाडी सारेको अवस्था छ ।

भन्सार कार्यालयकै करिब एक शताब्दी पुरानो जीर्ण भवन समेत रहेको छ । आर्थिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बोकेको बेलौरी छोटी भन्सार स्तरोन्नतिको साटो बेवारिसे अवस्थामा रहनु यस क्षेत्रमा नेतृत्वकर्ता र राज्य पक्षको गैरजिम्मेवारीपन ठहरिएको बेलौरीका सामाजिक अभियन्ता मेवाराम चौधरीको भनाइ छ ।

२०७५ मङ्सिरमा काठमाडौँमा भएको नेपाल–भारत दुवै देशका भन्सार विभागको उच्च स्तरीय प्रतिनिधि मण्डलको भेलाले समेत कञ्चनपुरको बेलौरी सहित देशभरका पाँच वटा सीमा विन्दुहरूमा नाका भन्सार स्थापना र स्तरोन्नति गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो ।

भारतसँगको द्विदेशीय भन्सार नाकाका रूपमा बेलौरी–खजुरीया भन्सार नाका स्थापित गर्न सके सुदूरपश्चिम प्रदेशका लागि प्रमुख आर्थिक, व्यापारिक र पर्यटकीय गतिविधि तथा विकासमा टेवा पुग्ने देखिन्छ ।

यो प्रचुर सम्भावना बोकेको बेलौरी भन्सार कार्यालयमै ताला झुण्ड्याइरहनु कुनै तवरबाट पनि उचित नदेखिएकोले पुनः भन्सार नाका सञ्चालनमा ल्याई स्तरोन्नति गरिनु पर्ने थारु कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सुनिता चौधरीको धारणा छ ।


आवश्यक कारबाही गरी कार्यालय खुला गराई पाउँ भन्ने विषयको निवेदनको पूर्ण पाठ यस्तो छ ।

“बेलौरी नगरपालिका वडा नं.– ६ वैशाखा स्थित बेलौरी भन्सार कैलाली कञ्चनपुरको प्रशासनिक केन्द्र बेलौरीमा स्थापना भएको वर्ष १९१७ साल देखि सञ्चालन रहेको शताब्दी बढी पुरानो भन्सार हो । आफ्नै स्वामित्वको २१५५५ व. मि. (३–३–१३) जग्गा र ३ वटा भवन भएको बेलौरी भन्सारलाई हाल ताला बन्दी गरिएको छ ।

राजमार्ग पश्चिम चेकजाँच कक्षमा विगत ६ महिना देखी ताला लागेको छ भने राजमार्ग पूर्वपट्टिको भवनमा गत १८ महिना देखी कैलाली भन्सार कार्यालयले ताला लगाएर बन्द गरेको छ । ऐतिहासिक २ तले भवन जिर्णशिर्ण भएर कुरूप अवस्थामा खतरा जन्य बनेको छ ।

भवनको भित्तामा उम्रेका पिपल आदिको बोट २५–३० फिट अग्ला रुख बनेका छन् । बेलौरी भन्सार कर्मचारी विहीन, कुरुवा, विहीन, मर्मत सम्भार विहीन, सुरक्षा विहीन, बेवारिसे बनी, अलपत्र परेको छ ।

उपल्लो तहको कार्यालयबाट रेखदेख नियन्त्रण र सञ्चालनमा पूर्ण बेवास्ता, उपेक्षा र चरम लापरबाही गरिएको देखिन्छ । “राजमार्ग पश्चिमको भवनमा नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग, कैलाली भन्सार कार्यालय, बेलौरी छोटी भन्सार बेलौरी, कञ्चनपुर“ लेखिएको साइनबोर्डले यस भन्सारलाई बेजिल्लाको भन्सार कार्यालय मातहतमा राखेर आफ्नो जिल्लाका सरोकारवाला सबै सरकारी कार्यालयहरू सँग असंलग्न गराएर यहाँका जनप्रतिनिधिहरू, जनप्रतिनिधिमूलक संस्थाहरूलाई नजर अन्दाज गरेको ठहरिन्छ ।

राजस्व सङ्कलन गर्ने भन्सार जस्तो मुलढोकामा देशी विदेशी आम नागरिकहरू, व्यापारीहरू, पर्यटकहरूको आवतजावत, वस्तुहरूको निकासी पैठारी जस्तो महत्त्वपूर्ण संवेदनशील विषय व्यवस्थित गरेर सुशासन, सभ्यता, समृद्धि प्रवर्धन गर्नको सट्टा, अन्तर्राष्ट्रिय सीमा क्षेत्रको कार्यालयलाई अस्तव्यस्त हुन दिई चरम लापरबाही र बेवास्ता गरिएको कार्य कसैको पनि हितमा छैन ।

सुदूरपश्चिम प्रदेशको भारतसित सीमा क्षेत्र स्थित पशु चौपाया निकासी पैठारी हुने सीमा नाका भन्सारहरूमा व्यवस्थित कार्य गर्न दार्चुलामा १, गड्डाचौकीमा १, भन्सार रोड बेलौरीमा १, भन्सार रोड धनगढीमा १ गरी जम्मा ४ वटा पशु क्वारेनटाइन चेकपोस्ट रहेको ब्यहोरा अनुरोध गर्दै भन्सार रोड बेलौरीमा रहेको पशु क्वारेनटाइन चेकपोस्टले आंशिक रूपमा अद्यापि काम गरिरहेकोले बेलौरी नाका भन्सार हो भन्ने प्रमाणित गर्दछ ।

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, कञ्चनपुर स्वयंले स्थिति अवलोकन गरी विषयको संवेदनशीलतालाई मध्य नजर गर्दै आवश्यक प्रशासनिक कदम चाली शीघ्रातिशीघ्र ताला बन्दी हटाई कार्यालय सुचारु गराउन क्षेत्रवासीहरू अनुरोध गर्दछौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?