नगर प्रमुखसहित सात जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

काठमाडौं, चैत २१ गते । पञ्चपुरी नगरपालिका, सुर्खेतका तत्कालीन नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशकसमेत सात जना र नमुना समाज, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा दुई करोड २० लाख रुपियाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ । गाेरखापत्र

नगरप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम भन्ने लालबहादुर घर्ती मगर, अध्यक्ष  भूमिसरा पुलामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मङ्गलबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता भई रकम भुक्तानी गर्दा भ्रष्टाचार गरेको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?