स्थानीय बजारमा स्थानीय तहको निगरानी

क्याप्सन ः खप्तड छेडेदह गाउँपालिका उपअध्यक्ष बीसु नाथको नेतृत्वमा गएको टोली विभिन्न बजार भेटिएको म्याद नाघेका बस्तु नष्ट गर्दै । तस्बिर ः सुदूरपाटी÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , वैशाख २४ गते । बाजुराका स्थानीय तहले पछिल्लो समय स्थानीय स्तरमा रहेका बजार अनुगमन गर्ने कार्यलाई तीव्रता दिदै आएका छन् ।

सडक सञ्जालको पहुँच भएसँगै गाउँ बस्तीमा स्थापना भएका ससाना बजारमा म्याद नाघेका सामाग्री वितरण गर्ने कार्य बढ्दै गएपछि यहाँका स्थानीय तहले पनि बजार अनुगमन गर्ने कार्यलाई तीव्रता दिदै आएका हुन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाले गत शनिबारबाट यहाँका एक देखि तीन वडामा रहेका सबै बजार अनुगमन गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका १ काँडा सिग्रा, २ को जयवाग्यश्वरी, गाँज्रा , पीपलगाउँ ३ को पुडावाँला , मालझुली लगायतका बजार अनुगमन गर्दा यहाँ थुप्रै म्याद नाघेका सामाग्री भेटाइएको खप्तट छेडेदह गाउँपालिका उपाध्यक्ष बीसु नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजार अनुगमन गर्दा प्राय चाउमिन बनाउँदा प्रयोग गर्ने सस , सुजी , मसला , खाने तेल , दालमठ , चिउरा र कुनै पसलमा भारतबाट अवैध तरिकारले ल्याएका बिडी र सुर्ती समेत भेटिएका छन् ।”

यसरी म्याद नाघेका र अवैध तरिकारले नेपालमा भित्र्याएर बजारमा बिक्री गर्दै आएको ती समाग्री सबै नष्ट गरेको उपाध्यक्ष नाथले बताउनुभयो ।

जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाको रोहवरमा बाजुराका नौ वटै स्थानीय तहमा बजारलाई वर्षको तीन पटक अनिवार्य अनुगन गर्ने व्यवस्था गरेको छ ।

यसै अनुसार गत शनिवार खप्तड छेडेदह गाउँपालिका एक देखि तीन वडामा रहेका विभिन्न बजारमा जिल्ला प्रशासन प्रहरी , घरेलु , कोलेनी , उद्योग वाणिज्य सङ्घ स्थानीय तहका उपप्रमुख , उपाअध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत र यहाँका कर्मचारीको रोहवरमा अनुगमन गरेको हो ।

बजार अनुगमन गर्दा प्राय स–साना व्यापारीको पसलमा म्याद नाघेका सामाग्री देखा पर्ने गरेका छन् ।

बाहिरका ठुला साहुले म्याद सकिन लागेको सामाग्री पठाउँने गरेकोले हाम्रो पसलमा पनि ती समाग्री भेटिने गरेको यहाँका स्थानीय व्यापारीले बताउँछन् ।

म्याद नाघेका कुनै पनि बस्तुले मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भएकोले यहाँका व्यापारीलाई त्यो सामाग्री बिक्री मनाही गरेको भएपनि यहाँका अधिकाशं व्यापारीहरुले भने त्यो सामाग्री बिक्री गर्दै आएको स्थानीयको भनाइ छ ।

यहाँका बजारमा बिक्री हुने गरेका कतीपय सामाग्रीमा नत मुल्य हुन्छ , नत उत्पादन तथा म्याद सम्पन्न मिति हुन्छ ।

यहाँका अधिकाशं बजारमा यसरी म्याद तय नगरेको सामाग्री स्थानीय स्तरमा बढी बिक्री हुने गरेको पाइन्छ । यहाँका स्थानीलाई यो कुराको बारेमा जानकारी नहुँदा यहाँका व्यापारीहरुले म्याद नाघेका बस्तु समेत बिक्री गर्ने गर्दछन् ।

पहिले भन्दा अहिले यहाँका पसलमा म्याद नाघेका सामाग्री कम भेटिएका छन् । स्थानीय बजारलाई स्थानीय तहको निगरानी हुँदै गएपछि यहाँका पसलहरुमा अहिले म्याद नाघेका सामाग्री कम भेटिने गरेको छ ।

यहाँका कुनै पनि स्थानीयले म्याद नाघेका वा सडेका बस्नुलाई पसलबाट खरिद बिक्री गर्न नपाइने गरी पछिल्लो समय गाउँपालिकाले प्रत्येक व्यापारीहरुलाई यस्ता कुनै पनि बस्तु बिक्री नगर्नु भन्दै समय समयमा जानकारी गर्दै आएका छौ ।

यदी कोही कसै व्यापारीले फेरि पनी पालिकाले भनेको कुरालाई केही सुनुवाइ नगरी फेरी पनि स्थानीलाई यसरी म्याद नाघेका जुनसुकै बस्तु बिक्री गरेको पाइएमा नीज व्यपारीलाई आवश्यक कानुनी कारबाही गरिने खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसु नाथले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?