धरहरा ठडियो मात्र पूर्ण बन्न सकेन

धरहराको निर्माण सम्पन्न भए पनि त्यस आसपासमा पार्क तथा अन्य निमार्णको काम भने भइरहेको छ । फाइल तस्बिर

काठमाडौँ, वैशाख ८ गते । वार्षिक परीक्षा सकिएपछि काठमाडौं आउनुभएका तनहुँका पदम थापालाई धरहरा चढ्न मन भयो । काठमाडौं घुम्ने क्रममा धरहरा चढेर मात्र घर फर्कने उहाँको मन छ । सुन्धारमा आएपछि धरहरा चढ्ने सुरले उहाँ त्यसतर्फ लाग्नुभयो । तर सुरक्षा गार्डले धरहरा बनिसकेको छैन भन्दै फर्काइदिए ।

“धरहरा उद्घाटन भएको दुई वर्ष अघि नै सुनेको हो । अहिले बनिसक्यो होला भन्ने सोचले धरहरा चढ्न आएको बनेकै रहेनछ ,उहाँले सुनाउनुभयो ।” बाहिरबाट हेर्दा धरहराको सबै भाग बनेजस्तो देख्दा धरहरा चढ्न साह्रै हुटहुटी लागेको उहाँ सुनाउनुहुन्छ । यस अघिको पुरानो धरहरा समेत उहाँले चढ्न पाउनुभएको थिएन ।

उहाँले सुनाउनुभयो, “काठमाडौं आएपछि धरहरा चढ्ने मन कसको पो नहोला र ? अब फेरी कहिले आउने हो थाहा छैन ।आउँदा धरहरा चढ्ने मन थियो । यसपालि धरहरा चढ्ने रहर पूरा भएन ।” उहाँ त एउटा प्रतिनिधि पात्र मात्र हो । अन्य सर्वसाधारणलाई पनि धरहरा चढ्ने इच्छा छ । तर धरहरा निर्माण कार्य नसकिएकाले सर्वसाधारणका लागि खुल्ला गरिएको छैन ।

उद्घाटन भएको दुई वर्ष बिते पनि धरहरा पूर्णरूपमा सम्पन्न भएको छैन ।  पुनर्निमित्त धरहराको २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको दुई वर्ष बित्यो तर काम भने पुरा भएको छैन । धरहराको पुनर्निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

धरहराको मुख्य टावरमा लिफ्ट पनि सञ्चालनमा रहेकाले धरहरा चढ्न मिल्नेछ । तर बेसमेन्टमा पसलहरू थपिएकाले यसको पनि पाँच प्रतिशत काम बाँकी छ । निर्माणको जिम्मा पाएको जीआईईटीसी रमन केभी कम्पनीका प्रोजेक्ट म्यानेजर रमेश पौडेलले आगामी असोज मसान्तसम्म निर्माणको सबै काम सक्ने योजना रहेको बताउनुभयो । अहिले बाहिर बेसमेन्ट, बगैँचाको काम चलिरहेकाले यो सबै असोज मसान्तसम्म सक्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

मुख्य धरहराको बेसमेन्टमा पसलहरू थपिएकाले पाँच प्रतिशत मात्र काम बाँकी  छ । अन्य बाहिरी ल्याण्डस्केप निर्माण, बगैँचा निर्माण,गेट निर्माणको काम चलिरहेकाले तत्काल खुल्ला गर्न नसकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी ल्याण्डस्केपका कामहरू बाँकी छन् । यसको डिजाइन निर्माणका लागि  परामर्शदाताको छनौटमा दुई महिना निर्णय हुन नसक्दा काममा समस्या भएको थियो । तर अहिले त्यस्तो समस्या छैन ।” आफूहरूले  काम गरिए बापतको १५ करोड रुपियाँ भुक्तानी लिन पनि बाँकी रहेको उहाँले बताउनुभयो ।

युटिलिटी ब्लकको काम धेरै मात्रामा बाँकी रहेको उहाँको भनाइ छ । सम्पूर्ण विद्युतीय प्रक्रियामा यही ब्लकबाट प्रवाह गर्नुपर्ने भएका कारण यसको निर्माणमा समय लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरै मात्रमा युटीलीटी ब्लकको काम बाँकी रहेको छ । यसबाट नै एसी, सम्पूर्ण विद्युतीय पावर सप्लाई हुने भएका कारण यसको निर्माण केही ढिला भएको छ । यस ब्लकको डिजाइन पनि पछि प्राप्त भएका कारण समय लागेको हो ।’’ अण्डरग्राउण्डको भौतिक संरचनाको काम पनि सबै सकिएको उहाँको भनाइ छ । यसका रंगरोगनका काम भने पछि गरिने उहाँ बताउनुहुन्छ ।

असोजसम्म म्याद थपको प्रस्ताव

धरहरा पुनर्निर्माणको काम तोकिएको समयमा सम्पन्न नभएपछि असोज मसान्तसम्मको  म्याद थप्नका लागि प्रस्ताव गरिएको उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना भवन कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीका अनुसार म्याद थपसम्बन्धी प्रस्ताव प्राप्त भएको र यसलाई स्वीकृतिका लागि भवन विभागमा पठाइएको बताउनुभयो । कम्पनीले पुस मसान्त अघि नै निवेदन दिएकाले काममा कुनै रोकावट नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “कम्पनीले पहिले तोकिएको समयमा काम सम्पन्न नहुने नभएपछि म्याद सकिनु २१ दिनअघि म्याद थपको लागि निवेदन पठाएको थियो । स्वीकृतिको लागि भवन विभागमा पठाएका छौँ । स्वीकृत भएपछि असोज मसान्तसम्म म्याद थप हुन्छ ।” निर्माण प्रारम्भ गर्दाको समयमा भन्दा भौतिक संरचना धेरै थपिँदा काममा सुस्तता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले धरहरा पुनर्निर्माण गर्दा पाँच रोपनीबाट सुरु गरेका थियौँ । अहिले ४२ रोपनी पुगेको छ । यसले गर्दा पनि समय लागेको छ ।”

पछि प्रशासनिक भवन तथा अन्य संरचनागत कामहरू पनि थपिएका कारण समय लागेको उहाँको भनाइ छ । मन्दिर, टिकट काउन्टर भवन पनि निर्माण गर्नुपर्ने भएका कारण  समय लागेको उहाँको भनाइ छ ।

सुन्धाराको समस्या समाधान

धरहरा निर्माणको क्रममा सुन्धाराको अस्तित्व मेटिएको भन्दै केही महिनाअघि सम्पदा अभियन्ताहरूले धरहरा पुनर्निर्माणको काम रोकेका थिए । सुन्धारामा अनावश्यक फोहोर पारिएको र सुन्धाराको अस्तित्व नै मेटिएको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए ।  अहिले यो समस्या समाधान भएर काम सुरु भएको छ ।

सुन्धारालाई पछिको पुस्ताले अवलोकन गर्न सक्ने गरी सङ्ग्रहालयको रूपमा नै विकास गर्ने गरी काठमाडौँ महानगर र स्थानीयहरूसँग छलफल भएको पौडेलको भनाइ छ ।

पुरानो धरहराको लागि बनेन योजना

२०७२ सालको भूकम्पले भत्काएको धरहराको भग्नावशेषको रूपमा रहेको पुरानो धरहरालाई कसरी संरक्षण गर्ने भन्ने योजना बनी नसकेको उहाँको भनाइ छ । पहिले यो भग्नावशेषलाई सिसाले धेरै संरक्षण गरिने योजना बनाइए पनि अहिलेसम्म यसको टुङ्गो लागेको छैन । धरहरा तीन अर्ब ४८ करोड (भ्याट सहित) जीआइटिसी रमन कन्स्ट्रक्सन केभी कम्पनीले पाएको थियो । गाेरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?