मालिका माविमा विद्यार्थी सङ्ख्या बढ्दै

क्याप्सन ः प्राथना गर्दै मालिका माविका छात्रा छात्र । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, जेठ २४ गते । बाजुराको सदरमुकाम मार्तडीमा स्थित मालिका माविमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

२०७६/७७ साल देखि यो विद्यालयले कक्षा एक देखि ५ सम्म अँग्रेजी र ६ देखि १२ कक्षा सम्म अँग्रेजी नेपाली माध्यमबाट पढाइ सुरु गरेसँगै मालिका माविमा वर्षेनी विद्यार्थी सङ्ख्या बद्ढै गएको हो ।

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी मालिका माविले अँग्रेजी ,नेपाली दुवै माध्यामबाट विद्यार्थीहरुलाई पठन पाठन सुरु गरेपछि यहाँका अन्य संस्थागत तथा नीजि विद्यालयबाट पनि विद्यार्थी भर्ना हुन आउने गरेपछि वर्षेनी विद्यार्थीको सङ्ख्यामा बढ्दै गएको मालिका माविले जनाएको छ ।

जिल्लाका अन्य सामुदायिक तथा नीजि विद्यालय भन्दा मालिका माविमा राम्रो पढाइ हुने गरेको सुनेपछि छोरा छोरीलाई यतै भर्ना गरेको त्रिवेणी नगरपालिकाका –१ छताराका स्थानीय कृष्णबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ नीजि विद्यालयको जस्तो यता शुल्क नतिर्नु पर्ने र पढाइमा पनि त्यहाँको भन्दा पनि धेरै राम्रो भएकोले मैले मेरा छोरा छोरीलाई यो वर्ष देखि यतै भर्ना गरेको हो ।”
छोरा छोरी भर्नाका भएको एक महिना जती भयो । उनीहरुलाई पढाइ कस्तो छ भनेर सोध्दा निकै राम्रो रहेको छोरा छोरीले भन्ने गरेको रावलले बताउनुभयो ।

नीजि विद्यालय भन्दा यो विद्यालयमा पढाइ राम्रो भएकोले यो वर्ष देखि यतै पढ्न थालेको मालिका मावि कक्षा –९ का नितेश खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यहाँ अँग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ । आफुलाई जुन माध्यममा पढ्न सहज लाग्छ त्यही माध्यमबाट पढ्न पाइने भएकोले म यो वर्ष देखि मालिका माविमा भर्ना भएको छु ।”

म यहाँ भर्ना भएको झण्डै दुइ महिना हुन लाग्यो । यसो हेर्दा पढाइ पनि निकै राम्रो हुने गरेको सोही अनुसार आफुले पनि शिक्षकले पढाइको सबै कुरा राम्रो सँग बुझ्ने गरेको खत्रीले बताउनुभयो ।

२०८० सालको नयाँ भर्नामा बाजुराका अधिकाशं विद्यालयलाई कक्षा ६ र ९ का विद्यार्थी पाउँन निकै सकस भयो । यो वर्ष नगरले लिएको कक्षा ५ र ८ को नगरस्तरीय परिक्षामा अधिकाशं विद्यार्थी फेल भएपछि ती विद्यालयलाई कक्षा ६ र ९ का विद्यार्थी पाउँन मुस्किल भएको हो ।

जिल्लाका अधिकाशं विद्यालयमा केही वर्ष यता विद्यार्थी सङ्ख्या विस्तारै घट्दै गएको बेला बाजुराको माविका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

विगत दुइ वर्ष देखि हामीले कक्षा १ देखि ५ सम्म अँग्रेजी र ६ देखि १२ सम्म अँग्रेजी तथा नेपाली दुवै माध्यममा अध्यापन सुरु गरेपछि मालिका माविमा विद्यार्थीहरुको चाप बढ्दै गएको मालिका माविका सुचना अधिकारी शेरबहादुर रावलले बताउँनुभयो ।

उहाँले भन्नुभयो,“ विद्यालयले गुणस्तीय शिक्षामा वृद्धिविकास गर्दै आएपछि अहिले जिल्लाका अन्य नीजि तथा सामुदायिक विद्यालयबाट समेत विद्यार्थीहरु भर्ना भएका छन्् ।”

यो वर्ष ९४७ छात्र र १०९२ छात्रा गरी दुइ उनान्चास जना विद्यार्थी मालिकामा अध्ययनरत छन् । जिल्लाका अन्य संस्थागत तथा नीजि विद्यालयका ३२० जना विद्यार्थी यो वर्ष मालिका माविमा भर्ना भएको सुचना अधिकारी रावलले बताउनुभयो ।

यो विद्यालयले कक्षा एक देखि १२ सम्म भर्ना हुन आउँने गरेका सधै विद्यार्थीहरुलाई प्रवेश परीक्षा दिएर मात्र भर्ना गर्ने गरेको छ । तै पनि मालिका माविमा वर्षेनी विद्यार्थीको सख्यामा निकै वृद्धि हुँदै गएको छ ।

मालिका माविले विगतका वर्ष देखि गुणस्तरीय शिक्षामा जोड दिदै आएपछि यो वर्षको शैक्षिक सत्रको भर्नामा यहाँका जनप्रतिनिधि शिक्षक कर्मचारीका छोरा छोरी समेत यतै भर्ना भएको मालिका माविका प्राधानाध्यापक शुभराज तिमिल्सिनाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयमा दरवन्दी तथा नीजि स्रोत गरी झण्डै ६२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयले बिहानी र दिवा गरेर दुई सिफ्टको अध्ययन अध्यापन गर्ने गरेको छ । ”

विद्यालयमा कक्षा ११ र १२ को सि.टि.इ.भि.टिका डिप्पोमा इन सिभिल इन्जिनियरिङ र प्रिडिप्लोमा पढाइ हुने गरेको छ । भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अध्ययन तथा अध्यापनको वातावरण निर्माण गर्न सकिए सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुँदैन् ।

विद्यालयले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री सिकाइ अवलम्बन गर्दै आएपछि पछिल्लो समय मालिका माविमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

विद्यालय भवन,खानेपानी लगायतका भौतिक पुर्वाधार तथा शैक्षिक सामाग्रीको अभाव छ । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक छैनन् । नीजि स्रोतबाट शिक्षक कर्मचारी धान्न सकेको छैन् ।

यो समस्यालाई स्थानीय प्रदेश तथा सङ्घीय सरकारले सहयोग गरिदिने हो भने दुरदराजका बालबालिकालाई चाहे जस्तै शिक्षा प्रदान गर्न सकिने मालिका माविका प्राधानाध्यापक तिमिल्सिनाले बताउँनुभयो ।

बाजुरामा २३७ सामुदायिक र ३० संस्थागत गरी २६७ विद्यालय रहेका छन् । पछिल्लो समयमा जिल्ला यी सबै विद्यालय भन्दा मालिका माविमा विद्यार्थीको संङ्ख्या बढ्दै गएको जिल्ला शिक्षा इकाइ समन्वय समिति बाजुराका सुचना अधिकारी लोकेश विष्टले बताउँनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्