विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यकः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट ३५ वर्ष अघि स्थापित पोखरा लेडी जेसीजको साताव्यापी कार्यक्रम जेसीज सप्ताहको समुद्घाटन समारोह कार्यक्रममा बाेल्दै ।

पोखरा, १८ जेठ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुष जत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताउनु भएको छ ।

३५ वर्ष अघि स्थापित पोखरा लेडी जेसीजको साताव्यापी कार्यक्रम जेसीज सप्ताहको समुद्घाटन समारोहकाे प्रमुख अतिथिकाे रुपमा बाेल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।

‘घर, परिवार, समाज र राष्ट्रलाई रूपान्तरण गरी लोककल्याणकारी राज्य स्थापनार्थ महिला र पुरुषको समान सहभागिता एवं प्रतिनिधित्व अपरिहार्य छ ।’ उहाँले भन्नुभयो – ‘विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यक छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको सन्तुलित विकासका लागि पनि महिलालाई नेतृत्व तहमा लैजानु पर्दछ ।’

लेडी जेसीज जस्ता सामाजिक संस्थाले महिलाहरूको नेतृत्व र क्षमतासँगै चेतना विकासमा सहयोग पुगेको प्रदेश प्रमुख भट्टको भनाई छ । उहाँले थप्नुभयो – ‘नेतृत्वदायी भूमिकामा महिला सहभागिता बढाउन पनि यसले साथ दिएको छ । लाखौँ युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै देश निर्माणमा योगदान गर्दै आएको छ ।’

जेसीज १८ देखि ४० बर्ष सम्मका जवान युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था रहेको रतालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने यस संस्थाले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याएको प्रदेश प्रमुख भट्टको ठम्याई छ । ‘सक्षम नागरिककोउत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ ।

असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ । यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ ।’ – उहाँले भन्नुभयो ।सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसीज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको प्रदेश प्रमुख भट्टको सुझाव छ ।

लेडी जेसीजले सात दिनसम्म मनाउन लागेको अभिभावक अभिमूखीकरण तथा सचेतना कार्यक्रम, वृहत निःशुल्क स्वास्थ्य शिविर, महिलाका लागि साइबर अपराधसम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि तालिम, उद्यमशीलता सौन्दर्यतासँगै खानपान सम्बन्धी तालिम, वृक्षारोपण र सरसफाई कार्यक्रमको शुभकामना पनि उहाँले दिनुभयो । पोखरा लेडी जेसीजकी अध्यक्ष गायत्री फुयाँल लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्