ढुवानी अनुदानले प्याज बिक्रीमा सहज

क्याप्सन ः स्वामिकार्तिक खापर गाउँपालिका १ बाहुनीका किसानले उत्पादन गरेको अर्गानिक प्याज । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, असार ८ गते । बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका –१ बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्रीमा सहज बनाएको छ ।

गाउँपालिकाले यहाँका किसानको बारिबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज बनाएको हो ।

ढुवानी अनुदानको व्यवस्था नहुँदा प्याज बिक्रीमा समस्या हुन्थ्यो । अहिले गाउँपालिकाले बारीबाट ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि प्याज बिक्रीमा निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका वडा नं. –१ बाहुनीका कृषक बिरभाने विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ पालिकाले ढुवानी अनुदान दिएपछि मैले यहाँका किसानले उत्पादन गरेको सबै प्याज खरिद गर्दै जिल्ला भन्दा बाहिर बिक्री गर्ने गरेको छु ।”

गाउँमा उत्पादन भएको प्याजले कतै बजार नपाउँदा सडिने हो की भन्ने चिन्ता पसेको थियो । अहिले गाउँपालिकाको ढुवानी अनुदानमा यो प्याज बजारमा पुगाएसँगै धमाधम बिक्री हुनथालेपछि निकै हर्षित भएको विकले बताउनुभयो ।

जिल्लाकै दुर्गम बस्ती भनेर चिनिदै आएको बाहुनीका किसान पछिल्लो समय प्याज उत्पादनमा लागि परेका छन् ।

अन्नबाली भन्दा प्याजले यहाँका किसानलाई जिविकोपार्जन गर्न सहज देखिएपछि पछिल्लो समय यहाँका किसान प्याज उत्पादनमा लागि परेका हुन् ।

आर्थिक अवस्था मजबुद गर्ने गरी गाउँपालिकाले पछिल्लो समय यहाँका किसानलाई कृषिमा उत्प्रेरित गर्दै आएपछि अहिले उनीहरु कृषि क्षेत्रमा लागि परेको स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि प्राविधिक सहायक तीर्थबहादुर बुढाले बताउँनुभयो ।

उहाँले भन्नुभयो, “ पहिला यहाँका किसानले अन्नबाली लगाउने गरेका थिए । त्यसले उनीहरुलाई दुइ महिना पनि खान पुग्दैन थियो । अहिले प्याज खेती गर्न थालेपछि उनीहरुलाई खान पुगेको छ । ”

बाहुनीमा प्याज राम्रो उत्पादन हुन थालेपछि पछिल्लो समय यहाँका किसानको प्याज खेतीमा निकै आकृषण बढ्दै गएको बुढाले बताउनुभयो ।

जिविकोपार्जनमा सहज हुने गरी पछिल्लो समय बाहुनीका स्थानीयलाई प्याज उत्पानमा उत्प्रेरित गर्दै आएको स्वामिकार्किाक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुयभयो , “ बाहुनीका किसानले यो वर्ष झण्डै एक टन प्याज उत्पादन गरेका हुन् । उनीहरुले उत्पादन गरेको त्यो सबै प्याजढुवानी अहिले ढुवानी अनुदान सहयोगमा पीलिचौर , सुर्खेत र नेपालगञ्ज लगायतका विभिन्न बजारमा बिक्री वितरण भइरहेको छ । ”

गाउँपालिकाले पछिल्लो समय यहाँका कृषकलाई अर्गानिक खेती उत्पादनमा जोड दिएसँगै अहिले यहाँका किसान तरकारी उत्पादनमा निकै सकृय भएका छन् । अहिले यहाँ उत्पादन भएको बस्तु देशका विभिन्न बजारमा बिक्री भइरहेको अध्यक्ष रोकायाले बताउनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?